• २५ वैशाख २०८३, शुक्रबार

वडामै सेवा पुुग्दा गाउँलेहरू खुसी

blog

फाकफोकथुम गाउँपालिकाले वडा तहमा सञ्चालन गरेको घुम्ती शिविर । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख २५ गते । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । भौगोलिक रूपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो । 

गाउँपालिकाले आफ्ना सातवटै वडामा पालिका अन्तर्गतका स्वास्थ्य, कृषि, पशुुपक्षी, पन्जीकरण लगायतका शाखाका सबै सुविधा प्रदान गरेको छ । वडा तहमै स्वास्थ्य सुविधा आउँदा सामान्य जाँच गर्न र औषधी लिन देउमाई नगरपालिकाको मङ्गलबारेसम्म जानुपर्ने झन्झट टरेको वडा नम्बर–६ का सेवाग्राही निलकण्ठ अधिकारीले बताउनुुभयो । 

यस्तै, राष्ट्रिय परिचयपत्रका लागि ‘वायोमेट्रिक’ गराउने काम वडाबाटै भएको वडा–६ की धनमाया राईले बताउनुुभयो । ‘गाउँपालिका पनि जान सकेको थिएन, अहिले वडाबाटै बनाइ दियो, हिँड्न नसकेको बेला सजिलो भयो’ राईले भन्नुुभयो, ‘पहिला त इलाम नै जानुु पर्थ्याे, राष्ट्रिय परिचयपत्र नभई वृद्ध भत्ता दिँदैन, अहिले यहीँ शिविर आउँदा सजिलो भयो ।’ 

पालिकाले शिविरमा ज्येष्ठ नगारिकको परिचयपत्र, वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह, योजना सम्झौता, पशुु चौपायालाई औषधी वितरण, कृषिका लागि जैविक विषादी वितरण, व्यवसाय दर्ता र नवीकरण लगायतका विषयमा नागरिकलाई सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताउनुुभयो । ‘पालिकाको केन्द्र आउन कतिपय स्थानबाट त धेरै टाढा पर्छ, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई त झन समस्या छ । त्यही कारण हामीले वडा तहमै सेवा पुुर्‍याएका हौं ।’ 

शिविरमा दुुई सय ५५ जना ज्येष्ठ नागरिकले परिचयपत्र, तीन सय ८३ किसानले पशुका लागि औषधी लिएका, ३२४ किसानले कृषि शाखाबाट सेवा लिएका थिए । ६ वटा व्यवसाय दर्ता तथा नवीकरण, सात जनाले राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक र एक जनाले श्रम स्वीकृति लिएको पालिकाले जनाएको छ । यस्तै ७३ जनाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना लिएका थिए ।