• २५ वैशाख २०८३, शुक्रबार

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज : शिक्षामन्त्री

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ।

काठमाडौँ, वैशाख २५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ ।

सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरी सकेकोले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गर्नुभयो ।

‘बढी शुल्क लिनेमाथि कारबाही गर्न स्थानीय तह सक्रिय हुनुपर्छ’

विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको बताउनुभयो । 

“तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि सङ्घ सरकारको कुनै मद्दत चाहिएमा हामी तयार छौँ तर यो मूलतः स्थानीय तहको दायित्वको कुरा हो । नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ”, मन्त्री पोखरेले भन्नुभयो । रासस