• २५ वैशाख २०८३, शुक्रबार

घटना दर्ता कसुरमा वडाध्यक्षसहित तीन जना थुनामा

blog

जिल्ला अदालत नवलपरासी ।

विकास अधिकारी

पश्चिम नवलपरासी, वैशाख २५ गते । नवलपरासी जिल्ला अदालतले सुस्ता गाउँपालिका–५, का वडाध्यक्ष प्रभुनाथ अहिरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । झुठ्ठा विवरण पेस गरी व्यक्तिगत घटना दर्ता गरे गराएको सम्बन्धी कसुर मुद्दामा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिए पनि तीन जना कारागार चलान भएका छन् । वडाध्यक्ष अहिरसहित सुस्ता गाउँपालिका–५, रामनगरका ३२ वर्षीय तारिफ मिया अन्सारी र सुस्ता गाउँपालिका–३ का ३२ वर्षीय वडासचिव संजयकुमार चौधरी कारागार चलान भएका हुन् । 

गत वैशाख १५ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । झुठ्ठा विवरणका आधारमा जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको कसुरमा जनप्रतिनिधिसहित उनीहरूलाई पक्राउ गरिएको हो । झुटा विवरण पेस गरेर नारायणी पारीको सुस्तागाउँ बस्ने तारिख मियाँ अन्सारीले वडा ५ मा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए ।

मियाँको पिताको २०६० सालमै मृत्यु भइसकेको थियो । मृत्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृत्यु मुद्दा दर्ता भएको थियो ।