• २४ वैशाख २०८३, बिहिबार

धनकुटामा आँखाको शिविर सञ्चालन

blog

स्वास्थ्य शिविरमा आँखाको शल्यक्रिया गराउँदै स्थानीयहरू । तस्बिरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, वैशाख २४ गते । धनकुटाको पाख्रिबासमा आँखाको सल्यक्रिया शिविर आजबाट सञ्चालन गरिएको छ । स्थानीयहरूको आँखाको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सङ्घ संस्थाको सहयोगमा जिल्लाको विभिन्न पालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको हो ।

उक्त शल्यक्रिया शुक्रबारसम्म सञ्चालन हुने पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञानबहादुर गुरूङ्गले बताउनुभयो। उक्त शिविर तिलगङ्गा आँखा प्रतिष्ठान, पाख्रीवास नगरपालिका, नेपाल–भारतमैत्री सङ्घ, दुर्गालक्ष्मी परोपकार संस्था, नेपाल, अर्बुद रोग निवारण संस्था तथा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।

मोतिविन्दु रोगको पहिचान र समयमै शल्यक्रिया यसको प्रभावकारी समाधान भएको स्थानीयलाई सचेत गराउदै शल्यक्रिया सेवा तिलगङ्गा आँखा प्रतिष्ठानमार्फत निःशुल्क रूपमा उपलब्ध गराइएको लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरका चार्टर प्रेसिडेन्ट ईश्वर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार धनकुटा जिल्लाको छ वटै पालिकामा आँखा जाँच कार्यक्रम विस्तार गर्ने दीर्घकालीन योजना रहेको छ । उहाँले नियमित आँखा परीक्षणलाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिँदै मोतिविन्दु लगायत दृष्टिसम्बन्धी समस्याबाट बच्न समयमै उपचारमा जान सबैलाई आग्रह गर्नुभयो। साथै, शिविर सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका तिलगङ्गा आँखा प्रतिष्ठान, पाख्रीवास नगरपालिका तथा सम्पूर्ण सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

उक्त शिविरबाट धनकुटा जिल्लाको स्थानीय बासिन्दाहरूले उल्लेख्य लाभ लिनुभएको छ। शल्यक्रियाका लागि पाख्रीवास आउने बिरामीलाई निःशुल्क खान, बस्न तथा आवत–जावतको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।