• २४ वैशाख २०८३, बिहिबार

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

blog

सामान आयात गरिएको हिल्सा नाका । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, बैशाख २४ गते । चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्वको अवसरमा बिदा हुने भएको कारण सामान बाहिर निर्यातमा बन्द गरिएको थियो । बिहीबार पुनः सुचारु गरिएको हो 

गत शनिबारदेखि बुधबारसम्म हिल्सा नाकाबाट ताक्लाकोटको सामान आयात बन्द गरिएकोमा बिहीबारदेखि सुचारु भएको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । मे दिवसको अवसरमा चाडवाड भएको र सोही अवसरमा बिदा हुने भएको कारण पूर्ण रुपमा हिल्साबाट सामान निर्यातमा बन्देज लगाइएको थियो । 

चीनको ताक्लाकोटबाट मानिसका साथै सामानहरु पनि आउन सुरु भएको र यसबाट भन्सार शुल्क समेत असुल कार्य सुरु भएको उहाँले बताउनुभयो । सामान आयात कार्य रोकिएपछि भन्सार असुली समेत भएको थिएन । सो अवधिमा मानिसहरुलाई भने आवत–जावतमा गर्न दिइएको थियो । आउजाउ गर्ने मानिसले कुनै सामान ल्याउन दिइएको थिएन ।  

चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा आएको पाँच दिनमा चौध हजार रुपियाँ राजस्व असुली भएको थियो । अव त्यसमा बृद्धि हुने भएको छ ।