• २४ वैशाख २०८३, बिहिबार

काठेखोलाको प्रशासनिक भवन बनाउन जग्गा खरिद

blog

काठेखोलाका उपाध्यक्ष तेजबहादुर थापालाई जग्गाधनी पूर्जा हस्तान्तरण गर्नुहुँदै जग्गा व्यवस्थापन समितिका संयोजक बहृस्पति शर्मा कँडेल । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, बैशाख २४ गते । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाले प्रशासनिक भवन बनाउन जग्गा प्राप्ती गरेको छ । विभिन्न संघ संस्थाले चन्दा संकलन गरेर पालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिद गरिएको हो । 

बिहुँकोट समाज जापान, बिहुँकोट विकास मञ्च र जापान समाज बिहुँकोट लगायतका संघ संस्था र स्थानीयबासीसँग चन्दा संकलन गरेर काठेखोला गाउँपालिका वडा ६ बिहुँको आमपाटामा ६ रोपनी जग्गा खरिद गरिएको वडा अध्यक्ष तथा जग्गा व्यवस्थापन समितिका संयोजक बृहस्पति शर्मा कँडेलले जानकारी दिनुभयो । 

प्रतिरोपनी ७ लाखका दरले ४२ लाख रुपियाँमा ६ रोपनी जग्गा खरिद गरिएको हो । स्थानीय चार जनाको जग्गा खरिद गरिएको र केही जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएको कँडेलको भनाइ छ । ‘‘चार वर्षको प्रयासपछि सबै प्रक्रिया पु¥याइ गाउँपालिकालाई सरकारी प्रयोजनार्थ जग्गाधनी–पूर्जा हस्तान्तरण गरियो’’ संयोजक कँडेलले भन्नुभयो । 

लामो समयको प्रयासपछि गाउँपालिकाको प्रशासनिक भवन बनाउन जग्गा प्राप्ती भएको पालिका अध्यक्ष राजु थापाले बताउनुभयो । जग्गा प्राप्तीमा भूमिका खेल्ने र निःशुल्क जग्गा उपलब्ध गराउने दाताप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ । ‘‘जग्गा प्राप्ती र केन्द्रको विवाद टुंगिएको छ, अब छिट्टै प्रदेश र संघीय मन्त्रालयको प्रक्रिया पु¥याएर प्रशासकीय भवन बनाउने काममा लाग्छौं’’ अध्यक्ष थापाले भन्नुभयो । 

काठेखोलाको १७ औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत निर्णय गर्दै गाउँपालिकाको प्रशासनिक भवन आमपाटामा निर्माण गर्ने निर्णय गरेको थियो । राजनीतिक दलबिच असहमति र स्थानीयको असहयोगका कारण लामो समयदेखि पालिकाको केन्द्र काठेखोला –२ को अक्षते वडा नं. ६ को आमपाटा भन्ने विवाद लामो समय चल्यो । 

सर्वदलीय बैठकले अक्षते र सुल्डाँडालाई प्रशासनिक केन्द्र मान्ने र भवन आमपाटामा बनाउने सहमति जुटाएपछि १७ औँ गाउँसभामा सर्वसम्मत निर्णय गरिएको हो । 

पालिकाको आफ्नै भवन नहुँदा भाडाको घरबाट असहज रुपमा सेवा प्रवाह गर्दै आएको छ । हरेक वर्ष ७ लाख बढी घरभाडा तिर्दैआएको पालिकाले अहिले भीमसेन माविको भवनबाट सेवा दिइरहेको छ । बागलुङका नौ पालिकाले स्थायी भवन निर्माण गरिसकेका छन् ।