कोलम्बो(श्रीलङ्का), वैशाख २४ गते । श्रीलङ्काका प्रहरीले सप्ताहन्तदेखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामीसहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
अन्तर्राष्ट्रियरूपमा अपरारधको जालो फैलाई साइबर अपराध गर्दै आएको अपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटालालगायतका माध्यामबाट वार्षिक अरबौं डलर बराबरको हिनामिन गरेको जनाइएको छ । श्रीलङ्कामा, अधिकारीहरूले गत आइतबारको कारबाहिमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन् । यसै गरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
अपराधमा संलग्न व्यक्ती पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश गरी अवैधरूपमा अपराधिक कार्यमा संलग्न रहेको प्रहरी प्रवक्ता फ्रेडरिक वुटलरले बताउनुभएको छ । घोटाला केन्द्रबाट जफत गरिएका कम्प्युटर तथा मोबाइल फोनको फरेन्सिक जाँच गर्न आदेश दिएको जनाइएको छ । आइतबार पक्राउ परेका संदिग्धसँग फेला परेका कम्प्युटर र सञ्चार उपकरण पनि अनुसन्धानका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।
श्रीलङ्काको एक होटलबाट साइबर क्यामेरा सञ्चालन गरेको आरोपमा अधिकाशं चिनियाँ नागरिक सहित १५२ जना विदेशी नागरिकलाई हिरासतमा लिएको एक महिनापछि यो कारबाहि गरिएको जनाइएको छ । आप्रवासन अधिकारीहरूले गत मार्चमा १३५ चिनियाँ नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन् ।
यस अघि कोलम्बोस्थित बेइजिङ दूतावासले चिनियाँ नागरिकलाई श्रीलङ्कामा घोटालाको कारबाहीमा संलग्न हुनबाट रोक्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको थियो । श्रीलङ्काको दूर–सञ्चार पूर्वाधार, अनुकूल भौगोलिक संरचना र अपेक्षाकृत उदार भिसा नीतिले ठगी गिरोहलाई श्रीलङ्का सक्रिय रहन प्रोत्साहित गरेको दूतावासले जनाएको छ ।
सन् २०२४ मा श्रीलङ्काका अधिकारीहरूले टापुका विभिन्न भागमा साइबर अपराध विरुद्धको कारबाही गरेको आरोपमा २३० जना चिनियाँ नागरिक र २०० जना भारतीय नागरिकलाई हिरासतमा लिएको जनाइएको छ । रासस/एएफपी