• २५ वैशाख २०८३, शुक्रबार

भूमिहीन सुकुमवासीका लागि होल्डिङ सेन्टर

blog

होल्डिङ सेन्टर व्यवस्थापन गरिएको वडा ११ स्थित नयाँ बसपार्क टर्मिनल भवन । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २५ गते । बाँकेको कोहलपुर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोवास गर्दै आएका भूमिहीन सुकुमवासीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी गरिएको सूचनामा कोहलपुर नगरपालिका वडा ११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपास अतिक्रमित जमिनको अतिक्रमित क्षेत्र वैशाख २६ गते बिहानदेखि खाली गरिने भएको हुँदा त्यहाँका नागरिकलाई बसाइँ व्यवस्थापनका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिएको जनाइएको छ ।

सूचनामा नगर कार्यपालिकाको वैशाख १६ गते अतिक्रमित जमिन खाली गर्ने सम्बन्धमा प्रकाशित १० दिनको समयसीमा सूचना अनुसार २६ गते बिहानदेखि उक्त क्षेत्र खाली गराइने भएकाले उक्त स्थानमा बसिरहेका र २०८० भदौ ५ गतेको निर्णय बमोजिम सङ्कलित पारिवारिक लगत विवरण अनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीहरूको तत्काल अस्थायी बसाइँ व्यवस्थापनका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिएको जनाइएको छ ।

विभिन्न १६ स्थानमा १६ वटा होल्डिङ सेन्टरको व्यवस्थापन गरिएको सूचनामा जनाइएको छ । वडा नम्बर २ स्थित बाल अस्पताल छेउमा रहेको सटर, मुक्ति मावि नजिक रहेको सामुदायिक भवन, वडा कार्यालयनजिक रहेको दलित सङ्ग्रहालय, वडा नम्बर ३ स्थित सामुदायिक भवन मैटहवा, वडा ४ स्थित थारू सामुदायिक भवन गोहवा, वडा ६ स्थित थारू सामुदायिक भवन रझेनामा होल्डिङ सेन्टर व्यवस्थापन गरिएको छ ।

त्यसैगरी वडा नम्बर १० स्थित दीपशिखा मावि एकतानागर, सहकारी सामुदायिक भवन एकतानगर, वडा नम्बर ११ स्थित पुरानो बसपार्कमा रहेको नगर विकास समितिको भवन, क्रिकेट मैदान स्टेडियमको सटर, नयाँ बसपार्क टर्मिनल भवन, नयाँ बसपार्क बाहिरी भागको खाली सटर, नगर विकास समितिभित्र रहेको भवन, वडा नम्बर १२ स्थित वडा कार्यालय भवननजिक रहेको खाली भवन, दाउना स्वास्थ्य चौकी र वडा नम्बर १४ स्थित राम माविको खाली सटरमा होल्डिङ सेन्टर व्यवस्थापन गरिएको सूचनामा उल्लेख छ ।

कोहलपुर–११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर–३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास)मा अतिक्रमण गरी घर टहरा बनाइ बसोवास गरिरहेका व्यक्तिहरूको व्यक्तिगत लगत सङ्कलनको क्रममा ७५१ घरटहरा रहेको पाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वैशाख–१६ गते एक सूचना जारी गर्दै नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउनु पर्ने भएको हुँदा अवैध रूपमा बनाइएका घर टहराहरू आगामी वैशाख २५ गते साँझ ७ बजेभित्र खाली गर्न भनेको थियो । सम्बन्धित व्यक्ति स्वयं आफैँले १० दिनभित्र संरचनाहरू नहटाएमा नगरपालिकाले प्रचलित कानुनबमोजिम उक्त संरचनाहरु वैशाख २६ गते बिहान ६ बजेदेखि भत्काउने र अतिक्रमित जग्गा पूर्णरूपमा खाली गराइने जनाएको थियो ।