काठमाडौँ, वैशाख २५ गते । पुरुषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ । पछिल्लो समय युरोलोजिस्ट चिकित्सककहाँ प्रोस्टेट रोगका बिरामीको लाम लामो हुन्छ ।
नेपालका ७७ वटै जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीरमा दैनिक तीन हजार बिरामी आउने गर्छन् । तीमध्ये ४०० जना बिरामी युरो वार्ड ओपिडीमा आउने गर्छन् । अस्पतालका युरोलोजिस्ट वार्डका प्रमुख डा. रवीनबहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी ८० देखि एक सय जना हुन्छन् । तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी ६० देखि ७० जना आउने गरेका छन् । यस्तै प्रोस्टेटको सङ्क्रमण भएर दैनिक १७ देखि २० जना आउने गरेका छन् । यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक चारदेखि छ जना बिरामी आउने गरेका छन् ।
वीरमा मात्र होइन, निजी तथा अन्य सरकारी अस्पतालमा पनि प्रोस्टेट भएका बिरामीको भिड हुने गर्छ । काठमाडौँनिवासी ७२ वर्षीय हरि उप्रेती पिसाबको समस्या लिएर वीर अस्पताल जानुभयो । विभिन्न परीक्षणपछि चिकित्सकले उमेरका कारणले प्रोस्टेट बढेको भन्दै औषधी दिनुभयो र अहिले उहाँको समस्या धेरै कम भएको छ । काठमाडौँकै ४२ वर्षीय अमोद तिमल्सिनाले पनि उस्तै समस्या लिएर जाँदा चिकित्सकले प्रोस्टेट सङ्क्रमण भएको निक्र्योल गरी औषधी नै दिनुभयो । हेटौँडाका आमोद शर्माको विगत पाँच वर्षअघि प्रोस्टेटको शल्यक्रिया भएको थियो । उक्त शल्यक्रिया दुई वर्ष टिक्न सकेन । दुई वर्षपछि पुनः उहाँलाई समस्या हुन थाल्यो । दुई वर्षपछि अस्पताल आउँदा उहाँको दोस्रो पटक शल्यक्रिया गराइयो । अत्यधिक प्रोस्टेट बढेपछि उहाँलाई क्यान्सरको शङ्कामा चिकित्सकले बायोप्सी गराउनुभएको थियो । तर बायोप्सीमा क्यान्सर नेगेटिभ आयो । दोस्रो पटक प्रोस्टेटको शल्यक्रिया गराउनुभएका शर्मालाई फेरि दुई वर्षपछि समस्या भएर हाल प्रत्येक दुई÷दुई महिनामा चिकित्सकलाई देखाइरहनुभएको छ ।
एक पटक शल्यक्रिया भइसकेपछि किन पटक पटक प्रोस्टेट बढेर शल्यक्रिया गराइन्छ, किन प्रोस्टेट बढिरहन्छ भन्ने जिज्ञासामा वरिष्ठ युरोलोजिस्ट डा. रवीनबहादुर बस्नेतले पिसाबको नलीले सही बाटो लिन नसक्दा पटक पटक प्रोस्टेट समस्या दोहोरिने गरेको बताउनुभयो । डा. बस्नेतका अनुसार कुनै व्यक्तिको एक पटक शल्यक्रिया गरेपछि पटक पटक दोहोरिँदैन तर कुनै व्यक्तिलाई पटक पटक दोहोरिन सक्छ । पुरुषमा ५० वर्ष पुगिसकेपछि क्रमशः प्रोस्टेट बढ्दै जान सक्छ । यो रोग पुरुषमा देखिने साझा समस्याका रूपमा छ ।
“प्रोस्टेटका रोगी तीन किसिमका हुन्छन्,” डा. बस्नेतले भन्नुभयो, सङ्क्रमण भएर, उमेरका कारण र प्रोस्टेटको क्यान्सर भएर बिरामी अस्पताल आउने गर्छन् ।”
उहाँले अस्पतालको युरो वार्डमा आउनेमध्ये २० प्रतिशत बिरामी प्रोस्टेट समस्या लिएर आउने गरेको जानकारी दिनुभयो । पाँच प्रतिशत क्यान्सर र ७५ प्रतिशत उमेरका कारणले प्रोस्टेट बढेर आउने बिरामी अस्पताल आउने गर्छन् ।
युरोलोजिस्ट डा. बस्नेतका अनुसार प्रोस्टेट पुरुष शरीरमा पाइने एक ग्रन्थी हो, जुन पिसाबथैलीमुनि हुन्छ । उमेरसँगै यसको आकार बिस्तारै बढ्दै जान्छ । सबै पुरुषमा प्रोस्टेट बढ्छ तर सबैलाई समस्या हुन्छ भन्ने हुँदैन । जब प्रोस्टेट अत्यधिक बढ्छ, तब पिसाब प्रणालीमा अवरोध सिर्जना गरेर विभिन्न लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो ।
डा. बस्नेतका अनुसार प्रोस्टेट समस्या देखिँदा सबैभन्दा पहिले पिसाबसँग सम्बन्धित लक्षण देखा पर्छन् । बारम्बार पिसाब लाग्नु, पिसाब थाम्न नसक्नु, राति पटक पटक उठ्नुपर्ने, पिसाब सुरु हुन ढिला हुनु, पिसाबको धारा कमजोर हुनु वा टुक्राटुक्रा भएर आउनु जस्ता लक्षण यसका सङ्केत हुन् ।
पिसाब फेरेपछि पनि पूर्ण रूपमा ननिख्रिएको महसुस हुनु र तुरुन्तै पुनः पिसाब लाग्नु पनि यसका लक्षणमध्ये पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार कतिपय अवस्थामा बिरामीले सार्वजनिक स्थान वा यात्रा गर्दा समस्या झनै बढी महसुस गर्ने गर्छन् । बसमा यात्रा गर्दा बारम्बार रोकिनुपर्ने, बैठकमा बस्न नसक्ने, पिसाब रोक्न नसकेर चुहिने अवस्थासमेत देखिन सक्छ । सुरुमा देखिने यी सङ्केतलाई सामान्य भनेर बेवास्ता गर्न नहुने उहाँको सुझाव छ ।
समयमै उपचार नगरेमा प्रोस्टेटले गम्भीर जटिलता निम्त्याउन सक्ने भन्दै उहाँले पिसाबथैलीमा सङ्क्रमण, पत्थरी बन्नु, पिसाब मिर्गौलातर्फ फर्किनु, मिर्गौला सुन्निनु र अन्ततः मिर्गौलामा क्षति जोखिम हुने गर्छ । युरोलोजिस्ट डा. उजिता मिश्राका अनुसार कहिलेकाहीँ पिसाबमै रगत देखिन सक्ने र पिसाब पूर्ण रूपमा रोकिने अवस्था आउन सक्छ । उहाँले बिरामीको अवस्था अनुसार फरक फरक उपचार विधि अपनाइने बताउनुभयो । “सबै बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन,” डा. मिश्राले भन्नुभयो, “प्रारम्भिक अवस्थामा औषधोपचारबाटै लक्षण नियन्त्रण गर्न सकिन्छ ।” समस्या जटिल बन्दै गएमा शल्यक्रिया गर्नुपर्ने अवस्था आउने उहाँले स्पष्ट पार्नुभयो । जीवनशैली व्यवस्थापन पनि उपचारको महत्वपूर्ण पक्ष रहेको उहाँको भनाइ छ ।
नियमित समयमा पिसाब फेर्ने बानी बसाल्नु, राति सुत्नुअघि अत्यधिक पानी नपिउनु, मदिरा सेवन नगर्नु तथा सक्रिय जीवनशैली अपनाउनु आवश्यक रहेको डा. मिश्राको सुझाव छ ।
नेपालमा प्रोस्टेटसम्बन्धी समस्या बढ्दो देखिनुका पछाडि बढ्दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको छ । पहिलेको तुलनामा अहिले प्रोस्टेटका बिरामी अस्पतालमा आउने क्रम बढेको भए पनि अझै ठुलो सङ्ख्या परीक्षणभन्दा बाहिरै रहेको छ । नेपालमा प्रोस्टेटसम्बन्धी समस्या बढ्दै गए पनि यसबारे जनचेतना जागृत हुन सकेको छैन । लाज, डर तथा जानकारी अभावका कारण धेरै पुरुष समयमै स्वास्थ्य परीक्षणबाट टाढा रहने गरेका छन् । पिसाबसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श लिनु पर्छ,” डा. बस्नेतले भन्नुभयो, “समयमै उपचार भएमा जटिल अवस्थाबाट बच्न सकिन्छ र जीवनस्तर पनि सुधार्न सकिन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रोस्टेटसम्बन्धी चिकित्सक केन्द्रीय अस्पतालमा मात्र नभई प्रादेशिक अस्पतालमा समेत रहेको जानकारी दिनुभयो । सरकारको प्राथमिकतामा युरोलोजी तथा प्रोस्टेट रोग रहेको भन्दै उहाँले त्यही अनुसारको दरबन्दी तथा विशेषज्ञहरू कार्यरत रहेको बताउनुभयो ।