गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ । राष्ट्रपतिनिवास शीतलनिवासमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय पत्रकारिता दिवस, २०८३ का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्दै राष्ट्रपतिले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
राष्ट्रपतिले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगत्ले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गर्नुभयो । “हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानको यो मर्म र भावना अनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो,” उहाँले भन्नुभयो, “त्यसै गरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने छ ।” उहाँले पत्रकारिता परिवर्तनको वाहक र राष्ट्रनिर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको चर्चा गर्नुभयो । स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताउँदै उहाँले निष्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पनासमेत गर्न नसकिने स्पष्ट पार्नुभयो ।
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्ने भन्दै उहाँले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने अवस्था सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक चर्चा गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारको हकहित र सञ्चार गृहको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकारिता सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारले दशकौँदेखि कलमका माध्यमबाट समाजलाई देखाउनुभएको बाटो र पु¥याउनुभएको योगदानको कदरस्वरूप राज्यको सम्मान भएको उहाँले बताउनुभयो ।
प्रेसमा अङ्कुश लाग्दैन
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पुरस्कृत पत्रकारले आफ्नो निष्ठा र कलम डगमगाउन नदिईकन लोकतन्त्र र नागरिक स्वतन्त्रताको योगदान पु¥याएकोमा राज्यले उच्च सम्मान गरेको बताउनुभयो । “लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य छ । हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ,” उहाँले भन्नुभयो, “सरकार प्रेसमाथि कुनै पनि प्रकारको अङ्कुश लगाउने तयारीमा छैन ।” पत्रकारिता क्षेत्रको खोजीको तथ्यले स्थान पाओस् र सत्यले समाजलाई मार्गनिर्देश गरोस् भन्ने उहाँले कामना गर्नुभयो । प्रविधि विकासले पत्रकारितामा चुनौती थपिएकाले छापादेखि अनलाइन पत्रकारिताको व्यावसायिकता र दिगोपन महत्वपूर्ण भएको उहाँले चर्चा गर्नुभयो ।
सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले संविधानले सूचनाको हकलाई प्रत्याभूत गरेकाले भ्रष्टाचार र कुशासनविरुद्ध कलम चलाउन आग्रह गर्नुभयो । “प्रविधि आफैँमा साध्य होइन, साधन मात्र हो । यसलाई कसरी जिम्मेवारीपूर्ण ढङ्गबाट प्रयोग गरिन्छ भन्ने कुराले सुशासनको अवस्था निर्धारण गर्छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमको बाढीमा सत्य ओझेलमा पर्नुहुँदैन । पारदर्शी समाज र जवाफदेही सरकार निर्माणका लागि प्रविधिमैत्री पत्रकारिताले पहरेदारको भूमिका निर्वाह गर्नु पर्छ ।” वरिष्ठ पत्रकारिता पुरस्कारबाट चन्द्रकिशोर झा, नम्रता शर्मा सम्मानित हुनुभएको छ । यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट उमेश श्रेष्ठ, भोला पासवान र रूपा गहतराज सम्मानित हुनुभएको हो । राष्ट्रपतिले सबै पुरस्कृत पत्रकारलाई प्रतिव्यक्ति दुई लाख रुपियाँसहित कदरपत्रद्वारा सम्मान गर्नुभएको थियो ।