• २५ वैशाख २०८३, शुक्रबार

सांसदलाई विद्युतीय हाजिरी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २५ गते ।  सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यको विद्युतीय हाजिरी प्रयोजनका लागि ‘बायोमेट्रिक’ विवरण लिन सुरु गरेको छ । सचिवालयले वैशाख २४ देखि २८ गतेसम्म सङ्घीय संसद्का सदस्यको ‘बायोमेट्रिक’ लिने छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आन्दोलनका क्रममा हाजिरी प्रणाली व्यवस्थित बनाउने प्रविधिसमेत नष्ट भएकाले सङ्घीय संसद्का सबै सदस्यको बायोमेट्रिक लिन लागेको जानकारी गराउनुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आगलागी भएपछि नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को भवनमा क्षति पुगेको र सोही क्रममा संसद्का सदस्यको हाजिरी प्रणाली व्यवस्थित गर्ने प्रविधिसमेत नष्ट भएको थियो । 

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ बाट निर्वाचित सदस्यको ‘बायोमेट्रिक’ लिन बाँकी नै छ । प्रवक्ता गिरीले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सदस्यको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले संसद्को बैठकमा उपस्थितिको गणनालाई प्रविधिमैत्री बनाउन तथा सभा सञ्चालनको कार्य व्यवस्थित बनाउन ‘बायोमेट्रिक’ विवरण सङ्कलनले सहज बनाउने बताउनुभयो । 

सचिवालयले वैशाख २४ गते प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य तथा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समितिका सदस्यको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरेको छ । 

वैशाख २५ गते शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य तथा राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यको विवरण सङ्कलन गरिने छ । 

सचिवालयले वैशाख २८ गते सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यको ‘बायोमेट्रिक’ लिने छ ।