• २५ वैशाख २०८३, शुक्रबार

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई घडेरी कर्जा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २५ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले घडेरी किन्ने ऋणका लागि सात जनाले कोषमा निवेदन दर्ता गराएका छन् । कोषको योजनामा १८ महिनासम्म नियमित योगदान गरेका योगदानकर्ताले घडेरी किन्नका लागि कोषमा निवेदन दिएका हुन् । 

कोषका अनुसार कोषको योजनामा १८ महिनासम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषमा योगदानका आधारमा छ प्रतिशत ब्याजदरमा घडेरीका लागि अधिकतम एक करोड ५० लाख रुपियाँसम्म ऋण पाउने छन् । 

मे १ अथवा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई घडेरी किन्ने ऋण दिने व्यवस्थाको घोषणा गर्नुभएको थियो । कोषले अघिसारेको ‘घडेरी कर्जा’ को योजना यो पहिलो पटक हो । 

कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको योजनामा योगदान गरिरहेका सात जना योगदानकर्ताले घडेरी ऋणका लागि आएका निवेदनमा आवश्यक मापदण्ड पूरा भए वा नभएको हेर्ने काम भएको जानकारी दिनुभयो । त्यसका लागि कोषमा नियमित १८ महिनासम्म योगदान गरेको र मासिक रूपमा योगदान गरिरहने योगदानकर्ताले कोषमा योगदान गरेको रकमको आधारमा ऋण प्रदान गरिने उहाँको भनाइ छ । 

प्रवक्ता अधिकारीले योगदानकर्ता निवेदकले आवश्यक मापदण्ड पूरा गरेर आफ्नो योगदान रकमका आधारमा ऋण दाबी गरेमा तुरुन्तै ऋण प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोषले यस प्रकारको ऋण प्रवाह गर्दा योगदानकर्ताले मासिक किस्ता रकम बुझाउन सक्ने आम्दानीको स्रोत हेरेर बढी २० वर्षसम्म उक्त रकम भुक्तानी हुने गरी ऋण उपलब्ध गराउने छ ।

कोषले झन्डै चार वर्षदेखि योगदानकर्तालक्षित योगदानकर्ता विशेष सापटी कर्जा, योगदानकर्ता घर कर्जा, योगदानकर्ता छोराछोरी शैक्षिक कर्जा र सामाजिक कार्य कर्जाको सुविधा प्रदान गर्दै आएको छ । यी सापटी योजना अन्तर्गत हालसम्म ३० हजार योगदानकर्ताले नौ अर्ब २८ करोड रुपियाँ ऋण सुविधा लिइसकेको कोषले जनाएको छ । जसमा अहिलेसम्म सबैभन्दा धेरै योगदानकर्ता विशेष सापटी अन्तर्गत २९ हजार ७५० जनाले विशेष सापटी योजना अन्तर्गत साढे आठ अर्ब रुपियाँ सापटी लिएको जनाइएको छ ।