• २५ वैशाख २०८३, शुक्रबार

आयातित औलोको जोखिम कायमै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २५ गते । गर्मी मौसमको सुरुवातसँगै औलोको जोखिम बढ्दै गएको छ । पछिल्लो समय पाल्पा जिल्लामा औलो (मलेरिया) रोग पुष्टि भएको छ । पाल्पामा देखिएको औलो आयातित औलो हो । 

रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत जाने नेपाली नागरिकमा औलो (मलेरिया) सङ्क्रमण पुष्टि भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले आयातित औलो बर्सेनि देखापर्ने जानकारी दिनुभयो । उहाँले पाल्पा जिल्लामा देखिएको औलो भारतबाट फर्किने व्यक्तिमा देखिएको बताउनुभयो । 

उहाँले औलोका कारण बर्सेनि रोगी बढिरहेको जानकारी दिँदै स्थानीय औलो शून्यमा झार्ने लक्ष्य रहेको बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाल्पामा २५ जनामा औलो सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा दुई, २०७७/७८ मा एक, २०७८/७९ मा एक, २०७९/८० मा पाँच, २०८०/८१ मा सात जना तथा चालु आवको चैत मसान्तसम्म नौ जनामा सङ्क्रमण देखिएको हो । पाल्पा जिल्लाका औलो रोग कार्यक्रमका फोकल पर्सन मधुसुधन भट्टराईका अनुसार कुल सङ्क्रमितमध्ये २४ जना आयातित औलोका बिरामी रहेका छन् ।

गत वर्ष पूर्वखोला गाउँपालिकामा एक जना स्थानीय व्यक्तिमा मात्र औलो सङ्क्रमण पुष्टि भएको थियो । बाँकी सबै भारतबाट फर्किनुभएका व्यक्तिमा देखिएको थियो ।

पाल्पामा चालु आवमा पुष्टि भएका बिरामी पाल्पाका विभिन्न स्थानीय तहमा रहेका छन् । माथागढी गाउँपालिकामा तीन, बगनासकाली गाउँपालिकामा दुई तथा निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका र तानसेन नगरपालिकामा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भट्टचनले औलो नियन्त्रणमा विभिन्न चुनौती देखिएको जानकारी दिनुभयो । आयातित सङ्क्रमितको बढ्दो सङ्ख्या, कीटनाशकयुक्त झुल तथा विषादीको अभाव, पर्याप्त आर्थिक स्रोतको कमी, तालिमप्राप्त स्वास्थ्यकर्मीको अभाव तथा परीक्षण किटको अपर्याप्त उपलब्धता जस्ता कारणले लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको हो । 

नेपालमा औलो रोग (मलेरिया) अझै पनि जनस्वास्थ्यका लागि चुनौतीपूर्ण रोगका रूपमा रहँदै आएको छ । औलो एनोफिल्स जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी वर्षायाम तथा गर्मीयाममा यसको जोखिम बढ्ने गर्दछ । औलोको मुख्य लक्षणमा बारम्बार आउने ज्वरो प्रमुख मानिन्छ । यसका साथै टाउको दुख्ने, शरीर कमजोर हुने, पसिना आउने, वाकवाकी लाग्ने जस्ता लक्षण पनि देखा पर्दछन् । यस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनु पर्दछ । परिवार वा छरछिमेकमा यस्ता लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन सुझाव दिनुभयो । 

औलोबाट बच्नका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्नु पर्दछ । घर वरिपरि पानी जम्न नदिने, पानी जम्ने खाडल पुर्ने, झुल प्रयोग गरेर सुत्ने, झ्यालढोकामा जाली लगाउने, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउने तथा वातावरण सफा राख्ने जस्ता सावधानी अपनाएमा औलोको जोखिम घटाउन सकिन्छ ।