• २१ वैशाख २०८३, सोमबार

सुकुमवासीका लागि बृहत् स्वास्थ्य शिविर

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालित शिविर ।

काठमाडौँ, वैशाख २१ गते । नदी किनारबाट हटाइएका सुकुमवासीलक्षित सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बृहत् स्वास्थ्य शिविरको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सञ्चालन भइरहेको शिविरमार्फत विस्थापित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो । आइतबारसम्म शिविरमा ३०८ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर सोमबारसम्म सञ्चालन हुने छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य शिविरमार्फत सुकुमवासी बस्तीमा रहेका नागरिकलाई समेटेर स्वास्थ्य उपचार सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले विस्थापनपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तत्कालीन उपचार र प्रारम्भिक पहिचानलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो । सचिव डा. देवकोटाका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्तसेवा तथा मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध रहेको थियो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा बहिरङ्ग (ओपिडी) सेवाका रूपमा सञ्चालन भइरहेको छ । अस्पतालका निर्देशक डा.अनुप बाँस्तोलासहितको टोलीले स्वास्थ्य उपचार सेवा दिएको थियो । अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले विस्थापितको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले थप जटिल अवस्था देखिएमा सम्बन्धित सरकारी अस्पतालमा सिफारिस गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । यसै गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पतालबाट चिकित्सक र नर्ससहित चार जनाको टोली तथा कान्ति बाल अस्पतालबाट बालरोग विशेषज्ञसहित नर्सको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । डा. बाँस्तोलाले अधिकांशलाई मनोसामाजिक परामर्शको आवश्यकता देखिएको तथा मनोसामाजिकबाहेक नसर्ने रोग देखिएको बताउनुभयो । शिविरमा आएका बिरामीका लागि औषधीसमेत उपलब्ध गराइएको थियो । स्वास्थ्य सचिव डा. देवकोटाले कीर्तिपुर क्षेत्रमा सञ्चालन गरिएको शिविरमा आँखा तथा दन्तसम्बन्धी सेवा प्रदान गरिएको जानकारी दिनुभयो   ।  

सुकुमवासीका पशुको उद्धार 

काठमाडौँको बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाइएपछि घरपालुवा जनावर असुरक्षित बन्न पुगेका छन् । कतिपय जनावर मालिकविहीन अवस्थामा सडकछेउमा अलपत्र परेका छन् भने केही घाइते र बिरामी अवस्थामा भेटिएका छन् । यही संवेदनशील अवस्थालाई ध्यानमा राख्दै पशु चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार, उपचार र संरक्षण अभियानमा जुटेको छ । 

नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत कुकुर, बिरालो, बाख्रालगायत घरपालुवा जनावरको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा पुनस्र्थापनाको काम थालिएको हो । बस्ती हटाउनेक्रममा परिवार विस्थापित हुँदा उनीहरूले पालेका जनावर पनि जोखिममा परेकाले उनीहरूको संरक्षणलाई मानवीय दायित्वका रूपमा लिइएको चिकित्सकले बताएका छन् ।

बल्खु क्षेत्रमा पुगेको टोलीले घाइते जनावरको उपचार गर्नुका साथै केही जनावरलाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरेको जनाएको छ । चिकित्सकका अनुसार कतिपय जनावर लामो समयदेखि खाना, पानी अभाव, सङ्क्रमण र असुरक्षित वातावरणका कारण कमजोर अवस्थामा रहेका थिए ।

अभियानमा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष डा. मनोजकुमार शाही, नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी, पशुसेवा विभागका बरिष्ठ पशु चिकित्सक डा. अभाष पौडेल, एनिमल नेपालकी डा. सजना थापा, डा. विकास बोहोरा, डा. हरि दाहाल, डा. विशाल पोखरेल तथा डा. कमलेश्वर भट्टलगायतको सक्रिय सहभागिता रहेको थियो । पशु चिकित्सकले विपत्, बस्ती व्यवस्थापन तथा सहरी विकासका गतिविधिमा मानवसँगै पशु संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन् । “जबसम्म पशुका लागि मानवले बोल्दैन, तबसम्म त्यो समाजलाई उन्नत समाज भन्न सकिँदैन,” अभियानमा सहभागी डा. मनोजकुमार शाहीले भन्नुभयो । 

पछिल्लो समय प्राकृतिक विपत्ति र सहरी विस्तारकाक्रममा घरपालुवा जनावर बेवारिसे बन्ने समस्या बढ्दै गएको भन्दै उनीहरूको उद्धार तथा संरक्षणमा राज्य, स्थानीय तह र सामाजिक संस्थाबिच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । यस्ता अभियानले पशु कल्याणप्रति समाजलाई थप संवेदनशील बनाउने विश्वास गरिएको छ ।    

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।