बेलौरी समाचारदाता
कञ्चनपुर, वैशाख २० गते । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्थापितहरुले विभिन्न पाँच बुँदेमागसहित कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
आरक्ष पीडितहरुका समस्या सुन्न महेन्द्रनगर पुग्नुभएका मन्त्री चौधरीलाई पीडितहरुले विभिन्न पाँच बुदे मागसहित ज्ञापनपत्र बुझाउँदै शिघ्र व्यवस्थापन गरिनुपर्ने माग गरेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गरिएको छलफलका क्रममा आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले आरक्ष पीडितहरुले तत्काल स्थायी व्यवस्थापन हुनुपूर्व अस्थायी रूपमा गाँस, बासको व्यवस्था गरिनुपर्ने, १० कठ्ठा जमिन नघटाई पुनः स्थापना गरिनु पर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति उपलब्ध गराइनु पर्ने, आरक्ष पीडितलाई द्वन्द्वपीडित घोषणा गरिनु पर्ने, गाँस, बास, स्वास्थ्य र शिक्षाको उचित व्यवस्था गरिनुपर्ने सहितका माग राख्दै मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउनुभयो ।
ज्ञापन पत्र बुझ्नुहुँदै मन्त्री चौधरीले आरक्ष पीडितहरूको समस्या समाधानका लागि थप नयाँ आयोग गठन गर्ने कि विगतमा गठन गरिएका ३४ आयोगले गरेका कामको विश्लेषण गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । आन्दोलनका कार्यक्रम स्थगित गर्दै विगतमा बस्दै गरेको स्थानमा फर्कन आग्रह गर्नुहुँदै मन्त्री चौधरीले एक डेढ महिनामै समस्या समाधान गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
विसं २०५८ सालमा निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका २ हजार ४७३ आरक्ष पीडित परिवारहरू हाल महेन्द्रनगरस्थित जडिबुडीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउदै आएका छन् । उचित व्यवस्थापन नगरुञ्जेलसम्म यही क्षेत्रमा बसोबास गर्ने अडान लिएका छन् ।