• २० वैशाख २०८३, आइतबार

बस्ती स्थानान्तरणमा छुटेका नागरिकलाई दर्ता प्रक्रियामा आउन मन्त्रालयको आह्वान

blog

जोखिमयुक्त बस्तीका नागरिकको तथ्यांक संकलन गर्दै सरकारी अधिकारी । फाइल तस्बिर

काठमाडौँ, वैशाख २० गते । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ ।

मन्त्रालयले शनिबार एक प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई दर्ता गराउन अनुरोध गरेको हो ।

वास्तविक भूमिहीन नागरिकको डिजिटल लगत सङ्कलन तथा ‘होल्डिङ सेन्टर’ मार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको प्रेस नोटमा उल्लेख छ । उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व–व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रङ्गशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन अनुरोध गरिन्छ ।”

सरकार नागरिकको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनस्र्थापनाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरासमेत प्रेस नोटमार्फत प्रष्ट पारिएको छ ।