• २० वैशाख २०८३, आइतबार

बार्सिलोना ला लिगा उपाधि नजिक

blog

बल खोस्ने प्रयास गर्दै बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र ओसासुनाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, वैशाख २० गते । बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक उभिएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि होड बलियो बनाएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ८१औँ र फेरान टोरेसले अन्तिम समयमा गोल गर्नुभयो । राउल गार्सियाले ८९औँ मिनेटमा एक गोल फर्काएनुभयो । 

यस जितसँगै बार्सिलोनाले यसै साता उपाधि जित्ने सम्भावना बढेको छ । बार्सिलोना ३४ खेलबाट ८८ अङ्क बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १४ अङ्कले पछि पारेको छ ।

रियललाई उपाधि दौड कायम राख्न अब आज रातिको खेलमा स्पान्योललाई हराउनै पर्ने बाध्यता छ । रियलले जितेमा बार्सिलोनाको उपाधि दौड एक साता बढि लम्बिनेछ ।

दोस्रो स्थानमा रहेको रियलको अहिले ३३ खेलबाट ७४ अङ्क छ । पराजित ओसासुना ४२ अङ्कसहित १०औँ स्थानमा छ । एजेन्सी