गोकर्ण पौडेल
तुलसीपुर,वैशाख २० गते । तुलसीपुर उपमहानगरपालिका वडा ३ राम्रीमा भालुको आक्रमणबाट २६ वटा खसी,बाख्रा मरेका छन् । २०८२ माघदेखि हालसम्म भालुको आक्रमणबाट राम्री एउटै गाउँका चार जना किसानका २६ वटा बाख्रा मरेका हुन् ।
स्थानीय कलिभान रोकाका अनुसार रविबहादुर बुढाको आठ वटा, दीपक रानाको १० वटा, धने रानाको पाँच वटा र चन्द्रबहादुर सार्कीको तीन वटा गरी चार महिनाको अवधिमा २६ वटा बाख्रा मरेका हुन् । बाख्रा चराउन जङ्गलमा लगेको समयमा भालुले आक्रमण गरेर खसी, बाख्रा मार्ने गरेको छ ।
दाङ र सल्यान जिल्लाको सीमामा पर्ने भएकाले भालुले खसी, बाख्रा मारेर सल्यान कपुरकोटतिर जाने गरेको रोकाले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले हिंस्रक भालुले मानिसलाई समेत आक्रमण गर्न सक्ने भएकाले डिभिजन वन कार्यालयमा समेत जानकारी दिएको तर भालु नियन्त्रणका विषयमा कुनै सुनुवाइ नभएको बताउनुभयो ।