प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख २० गते । सल्यानको दार्मा गाउँपालिका –५ रातामाटास्थित अन्धनाशक आधारभूत विद्यालयमा पक्की भवन निर्माण भएपछि पठनपाठन सहज बनेको छ ।
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकास कार्यालय सल्यानले चार कोठे विद्यालय भवन निर्माण गरेसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर सिर्जना भएको हो ।
कर्णाली प्रदेश सरकारको करिब ६४ लाख ५५ हजार ६८३ रुपियाँ ९३ पैसाको लागतमा निर्माण गरिएको उक्त भवन भूकम्प प्रभावित क्षेत्र लक्षित पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न गरिएको हो । भूकम्पपछि जिर्ण बनेका संरचनाका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेका बेला नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई पढाईमा राहत मिलेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थलबहादुर के.सी.ले भूकम्पका कारण पुरानो भवन जिर्ण हुँदा पठनपाठन प्रभावित भएको उल्लेख गर्दै नयाँ भवनले कक्षा सञ्चालन सहज बनाएको बताउनुभयो । “पहिले भवन कमजोर भएपछि केही समय विद्यार्थीलाई पालमुनि राखेर पढाउनुपरेको थियो, अहिले नियमित रूपमा कक्षा सञ्चालन गर्न सहज भएको छ” उहाँले भन्नुभयो ।
पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख सिनियर इञ्जिनियर नविन थापाले भूकम्प प्रभावित क्षेत्रमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो । “स्थानीयलाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको छ” उहाँले भन्नुभयो । जिल्लामा करिब तीन करोड रुपियाँको लागतमा चारवटा विद्यालय र दुईवटा स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रधानाध्यापक खिमबहादुर के.सी.ले नयाँ चार कोठे भवन निर्माणले आधारभूत तह सञ्चालनमा सहजता ल्याए पनि अझै कक्षाकोठा अभाव रहेको बताउनुभयो । उहाँका अनुसार भूकम्पले पुराना भवन जिर्ण बनाएपछि केही समय अस्थायी संरचनामा कक्षा सञ्चालन गर्नुपरेको थियो ।
जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार २०८० कात्तिक १७ गते राति गएको जाजरकोट भूकम्पले सल्यानमा ४ हजार ३६४ घरमा क्षति पु¥याएको थियो । तीमध्ये सबैभन्दा बढी दार्मा गाउँपालिकामा ४ हजार ८१ घरमा क्षति पुगेको थियो। यस्तै बागचौर नगरपालिकामा १५४, कुमाख गाउँपालिकामा १२४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति पुगेको तथ्याङ्क छ ।
यसैबीच, एक कार्यक्रमबिच विद्यालयको नयाँ भवनको उदघाटन सल्यान प्रदेश सभा (क) का सदस्य भिमप्रकाश शर्माले गर्नुभएको थियो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा रहेका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि संघीय सरकारले थप प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी.ले भूकम्पमा मानवीय क्षति नभए पनि भौतिक पूर्वाधारमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणका लागि राज्यले पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राहत वितरण प्रक्रिया सुस्त रहेकोप्रति चिन्ता व्यक्त गर्दै पहिलो र दोस्रो किस्ताको राहत अझै पूर्ण रूपमा नपुगेको बताउनुभयो ।