• २० वैशाख २०८३, आइतबार

ङारदममा ग्लान वंशको राष्ट्रिय भेला सम्पन्न

blog

ग्लान समुदायको ङारदिममा आयोजित कार्यक्रम ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते ।  नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका –४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको ङारदिम (थातथलो) मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। 

“कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने मूल नाराकासाथ शुक्रबार ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न भएको हो । तामाङ समुदायभित्र पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित क्षेत्रलाई ग्लान समुदायको उद्गमस्थलका रूपमा मानिएको छ । 

पछिल्लो समय ग्लान वंशका सदस्यहरूले सो स्थानलाई ऐतिहासिक थलोको रूपमा स्वीकार गर्दै ग्लान समुदायको ङारदिम (थातथलो) का रूपमा स्थापना गरेका हुन्। पत्रकार अर्जुनबहादुर ग्लानको संयोजकत्वमा नवनिर्मित ‘ग्लान ङारदीम’को समेत आयोजित कार्यक्रमको प्रमुख आतिथ्यतामा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा ग्लान वंश नेपालका संरक्षक हितबहादुर ग्लान तामाङले उद्घाटन गर्नुभएको थियो । 

उक्त संरचना आर्थिक वर्ष २०८१–८२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित ९० लाख र दुप्चेश्वर गाउँपालिकाको ९ लाख सहयोगमा निर्माण गरिएको हो। कार्यक्रममा सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटनमन्त्री हितबहादुर ग्लान तामाङले नुवाकोट जिल्ला केवल ग्लानहरूको मात्र नभई तामाङ जातिभित्रका विभिन्न थरहरूको पवित्र उत्पत्ति स्थल भएको बताउनुभयो । 

कार्यक्रमका अतिथि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आफ्नै मातृभाषामा आफ्नो अभिव्यक्त गर्नुभयो । उहाँले सबै तामाङ समुदायलाई आफ्नो थातथलो खोज्न आग्रह गर्दै कुटुम्बबाट प्राप्त आशीर्वादले जीवनमा सफलता ल्याउने विश्वास व्यक्त गर्नुभयो । यो अभियानले झुक्किएर हाडनाता भित्र हुने बिहे रोक्दै कुटुम्ब पहिचान हुने उहाँको भनाइ छ । 

यसैगरी हरिवन नगरपालिका उपप्रमुख अतिथि हरिमाया ग्लानले आफ्नो भनाइमा अग्रजहरूबाट ‘ग्लान बप्स गोल्फु’ को नाम मात्र सुन्दै आएको स्मरण गर्दै  उक्त पवित्र थलोमा पुग्न पाउँदा खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष योविन्द्र सिहं तामाङले २०७४ सालको जनमतको कदर गर्दै आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, सडक लगायतका भौतिक पूर्वाधार विकाससँगै वंशको ङार दिम भवन निर्माण गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

कार्यक्रमको स्वागत मन्तव्य वडा नं ४ का अध्यक्ष ज्ञानबहादुर तामाङले व्यक्त गर्दै ग्लान वंशको संस्कृति संरक्षणका लागि नेपाल सरकारको तर्फबाट पूर्वमन्त्री हितबहादुर तामाङले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङले सबैले आ–आफ्नो संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिँदै ग्लान समाजको संरक्षण आवश्यक रहेको बताउनुभयो कार्यक्रमका सभापति तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले सो स्थानसम्म पुग्नुपर्ने कठिनाइप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने बताउनुभयो। 

भेलाले विधान मस्यौदा समितिले तयार गरेको प्रस्तावित विधान पारित गरिएको छ । पारित लगत्तै पत्रकार अर्जुनबहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय  तदर्थ समिति गठन गरेको छ। समितिका सदस्यहरूमा रक्षबहादुर ग्लान (काठमाडौं), ललित ग्लान (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर, नुवाकोट), आनन्दी ग्लान (ककनी, नुवाकोट), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सूर्यगढी, नुवाकोट) रहेका छन्।