• २० वैशाख २०८३, आइतबार

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

blog

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता सम्बन्धी बैठकमा सहभागी नेता ।

काठमाडौँ, वैशाख २० गते । नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सदस्यता सम्बन्धी बैठकमा यसबारे निर्णय भएको हो । 

एमाले उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्वपूर्ण कदम भएको बताउनुभयो ।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सङ्गठन विभागले प्रस्तुत गरेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयन मोडेलबारे विस्तृत छलफल गरिएको थियो।

सङ्गठन विभागका संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले बैठकमा पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको जानकारी दिनुभयो। उहाँले सङ्गठनलाई केन्द्रीय तहदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । 

सङ्गठन विभागका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ। यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागू गर्ने तयारी गरिएको छ।

यसअघि पार्टी महासचिवको उपस्थितिमा सातै प्रदेशका अध्यक्षहरूसहित सङ्गठन विभागको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्तावसमेत अघि सारेको थियो । 

सङ्गठन विभागका संयोजक ढकालका अनुसार तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्य स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ।