• २० वैशाख २०८३, आइतबार

सालको गोलियासहित ट्याक्टर नियन्त्रणमा

blog

नियन्त्रणमा लिईएको काठ र ट्याक्टर । तस्बिरः विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), बैशाख २० गते। सप्तरी प्रहरीले सालको काठ (गोलिया) सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। खडक नगरपालिका वडा ८ बिसनपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गस्ती गर्ने क्रममा शनिबार राति ९ः३० बजे स १ त ३९०२ नम्बरको ट्याक्टर सहित काठ नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिईएको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको ट्याक्टरमा राखिएको ३ थान सालको काठको गोलिया ट्याक्टर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले नियन्त्रणमा लिएको काठ सब–डिभिजन वन कार्यालय कल्याणपुरबाट प्राविधिक कर्मचारी बोलाई नापजाँच गर्दा उक्त काठको परिमाण ८० क्युफिट रहेको र मूल्य दुईलाख लाख ४० हजार मुल्य बराबरको रहेको बताउनुभयो ।

त्यस्तै नियन्त्रणमा लिइएको ट्याक्टरको मूल्य ६ लाख रुपियाँ रहेको अनुमान गरिएको छ । काठ र ट्याक्टर गरी जम्मा आठलाख लाख ४० हजार बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सालको काठसहित ट्याक्टर सवडिभिजन वन कार्यालय कल्याणपुर, सप्तरीमा बुझाइएको छ ।