• २० वैशाख २०८३, आइतबार

सुकुम्बासी व्यवस्थापन चैत मसान्तभित्र गरिसक्न रास्वपाको सुझाव

blog

बैठकपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा

काठमाडौँ, वैशाख २० गते । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमिहीन सुकुम्बासीको स्थानान्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सरकारलाई सुझाव दिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

प्रवक्ता झाका अनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकाका खोला किनारमा जोखिमपूर्ण बसोवास गरिरहेका नागरिकलाई सरकारले सुरक्षित स्थानमा सार्न खोज्नु सकारात्मक भएको बताउनुभयो ।

पार्टीले अधिकारसम्पन्न प्राधिकरण गठन गरी सुकुम्बासीको यथार्थ लगत सङ्कलन नगरेसम्म अव्यवस्थित रूपमा डोजर चलाउने कार्य रोक्न पनि सरकारलाई आग्रह गरेको छ । अवैध अतिक्रमणको उद्देश्यले निर्माण गरिएका संरचनाबाहेक अन्य स्थानमा जबर्जस्ती हटाउने कार्य तत्काल रोक्नुपर्ने रास्वपाको माग छ ।

प्रवक्ता झाले भन्नुभयो, “खोला किनारमा असुरक्षित रूपमा रहेका नागरिकलाई बर्खाको बाढी आउनुअगावै सुरक्षित स्थानमा सार्न जरुरी छ । त्यसैले चैत मसान्तभित्र व्यवस्थित पुनस्र्थापना गर्न र कम्तीमा ७५ प्रतिशत काम सम्पन्न गर्न सरकारलाई सुझाव दिइएको हो ।” लगत उपलब्ध नभएसम्म मानवीय संवेदनालाई ध्यान दिन र हचुवाका भरमा डोजर नलगाउन समेत उहाँले आग्रह गर्नुभयो ।

यसैबिच, रास्वपाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने सदस्यका लागि अनिवार्य ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ । यस्तै, सचिवालय बैठकले पार्टीको महाधिवेशन गर्ने कार्यविधि पनि पारित गरेको छ । महाधिवेशनको मिति र स्थान भने केन्द्रीय समितिको आगामी बैठकले तय गर्ने प्रवक्ता झाले जानकारी दिनुभयो ।