आर्य को थिए ? आर्य अवश्य पनि एउटा मानव समूह त हो नै तर यो मानव समूह मूल रूपमा मानव प्रजाति थियो वा भाषिक समूह थियो वा क्षेत्र विशेषलाई जनाउने मानव समूह थियो ? यी सवालमा विद्वान्हरूका आआफ्नै मत रहेका छन् ।
वर्तमानमा आर्य एक मानव प्रजातिका रूपमा धेरैले चर्चा गर्छन् । आर्यलाई संसारको प्राचीनतम ग्रन्थ वेदका स्रष्टा भनिएकाले पनि वास्तवमा आर्य को थिए ?, कहिलदेखि कहाँबाट सर्दै कहाँ पुगे ?, संसारको प्राचीन ग्रन्थ मानिने वेदको सिर्जना कुन ठाउँमा कहिले गरे होलान् ? भन्ने बारेमा विद्वान्ले आआफ्नो किसिमले मत राख्छन् ।
शब्दकोशहरूमा आर्य शब्दको अर्थ ‘सर्वश्रेष्ठ’, ‘उच्च’, ‘उत्कृष्ट’ लेखिएको छ । शब्दकोशले आर्य शब्दको अर्थ हैसियतका रूपमा देखाए जस्तै सर्वप्राचीन ग्रन्थ वेदमा पनि आर्य शब्द उपल्लो हैसियतको मानव समूहका रूपमा प्रयोग भएको देखिन्छ । इतिहासविद् रोमिला थापरले आर्यलाई एउटा निश्चित मानव समूहभन्दा पनि खास किसिमको भाषा (संस्कृत भाषा) बोल्ने मानिसको समूहका रूपमा बुझ्नुपर्ने तर्क गरेकी छन् । एउटा निश्चित क्षेत्रभित्र बस्ने मानिसहरू (तिनीहरू विभिन्न जाति प्रजाति विशेषका पनि हुन सक्दथे), जसले एउटै संस्कृत (आर्य) भाषा बोल्ने गर्दथे तिनीहरू नै आर्य मानव समूह कहलिए भन्ने तर्क थापरको छ ।
विद्वान् सांकृत्यायनले आर्यहरूलाई हिन्दु आर्य र वैदिक आर्यका रूपमा छुट्याएर बुझ्नुपर्ने तर्क गरेका छन् । यस सन्दर्भबाट आर्यका पनि विभिन्न उपसमूह भएको जानकारी प्राप्त हुन्छ । के ती सबै आर्य समूहको एउटै भाषा थियो त ? फेरि अर्को प्रश्न जन्मिन्छ । यदि एउटै भाषिक मूल स्रोत थियो भने सिन्ध क्षेत्रमा रहेका आर्यको लिपि किन अहिलेसम्म पढ्न सकिएको छैन ? भन्ने जिज्ञासा जन्मिन्छ तर जे भए पनि वैदिक सभ्यताको आरम्भ हुनुपहिले नै सिन्ध क्षेत्रमा आर्यहरूको प्रवेश भइसकेको तथ्य पनि विभिन्न सन्दर्भमा पाइन्छ ।
आर्यहरू सिन्ध क्षेत्रको मूल निवासी हो वा बाह्य क्षेत्रबाट प्रवेश गरेको मानव समूह हो ? भन्ने बारे विवाद रहेको छ । बाह्य क्षेत्रबाट प्रवेश गरेका हुन् भन्ने तर्कभित्र पनि कता र कुन क्षेत्रबाट आएका हुन् भन्ने बारे पनि मतान्तर रहेको छ । गार्डन चाइल्ड, ब्रैन्डस्टिन, विलियम जोन्सलगायतका विद्वान्ले आर्यको आदिक्षेत्र युरोप रहेको बताएका छन् । सप्त सिन्ध प्रदेशमा बसोबास गर्ने आर्य मूलतः युरोपियन आर्यको एक उपशाखा थियो भन्ने तर्क फिलिप्पो सेसेट्टीको छ । संस्कृत तथा युरोपेली भाषाबिच समताको आधारमा आर्यको आदिक्षेत्र युरोप रहेको तर्क उनको छ ।
ब्रैन्डस्टिनले आर्यको आदिनिवास क्षेत्र युराल पर्वतको दक्षिणमा अवस्थित किरिगिजको घाँसे मैदान रहेको बताएका छन् भने गार्डन चाइल्डको भनाइमा आर्यहरूको मूल थलो रुस तथा स्केन्डिनेविया क्षेत्र हो ।
मैक्समुलर, जे.जी. रोड, एडवर्ड मेयर, वि.के. घोषलगायतका विद्वान्ले आर्यहरूको मूल थलो युरोप नभएर एसिया महाद्वीप रहेको बताएका छन् । आर्यको प्राचीनतम ग्रन्थ जिन्द्र अवेस्ता एवं ऋग्वेद क्रमशः इरान र भारतमा लिपिबद्ध भएको पाइएको तथा यी दुवै ग्रन्थमा विषयवस्तु तथा भाषामा समानता रहेकाले आर्यको मूल थलो मध्यएसिया रहेको निष्कर्ष उनीहरूको छ ।
प्राच्यविद् इडवर्ड मेयर, ओल्डनवर्ग तथा किथले आर्यको मूल थलो मध्यएसियामा अवस्थित पामिरको पठार क्षेत्र बताएका छन् । यही पामिरको पठार क्षेत्रबाट आर्यहरू विभिन्न शाखामा विभक्त भएर युरोप र एसिया महाद्वीपका अन्य भागमा फैलँदै गएका थिए । आर्यको एक शाखा मेसोपोटिमिया तथा सिरियालगायतका क्षेत्रबाट अगाडि बढ्दै युरोपका विभिन्न भागमा पुगेको र आर्यको अर्को शाखा इरान, अफगानिस्तानलगायतका क्षेत्रबाट सर्दै पश्चिम उत्तर भारत क्षेत्रमा बसोबास गर्न थालेको मत रहेको छ ।
मोट्जे एवं हर्जफिल्डलगायतका विद्वान्ले आर्यहरूको मूल निवास मध्यएसियामा अवस्थित तुर्किस्थान रहेको बताएका छन् । यस्तै दयानन्द सरस्वतीले पूर्व वैदिक साहित्यमा वर्णित भूगोलको आधार लिँदै आर्यको मूल थलो तिब्बत क्षेत्र रहेको बताए । बाल गङ्गाधर तिलकको मतमा आर्यको मूल क्षेत्र आर्कटिक प्रदेश तथा उत्तरी ध्रुव हो । उनले करिब इपू ८००० वर्षपूर्व ठुलो हिमपातका कारण आर्यहरू आफ्नो मूल स्थान छाडेर एसियाको शीतोष्ण प्रदेशमा शरण लिन आएको बताएका छन् । यसै काल क्रममा आर्यहरू इरान हुँदै भारत प्रवेश गरेका हुन् भन्ने उनको तर्क रहेको छ । उनले अवेस्तामा हिमप्रलयको चर्चा भएको सन्दर्भ उल्लेख गर्दै उनले सोही आधारमा आर्कटिक क्षेत्रलाई आर्यहरूको मूल थलो मानेका छन् तर यस तर्कलाई केही विद्वान्ले खण्डन गर्दै वैदिक साहित्यमा उत्तरी ध्रुवको कुनै प्रसङ्ग नरहेको र सिन्ध क्षेत्रलाई उनीहरूले देवकृतयोनी भनेकाले उत्तरी ध्रुव मूल स्थल हुन नसक्ने मत जाहेर गरेका छन् ।
यस्तै गङ्गानाथ झाले आर्यको आदिदेश भारतमा अवस्थित ब्रहमर्षि क्षेत्र रहेको बताएका छन् भने डिएम त्रिवेदीको मतमा आर्यको मूलक्षेत्र भारतको देवीका नदीको आसपासको भूक्षेत्र हो । त्यसै गरी एल.डी कल्लोले आर्यको मूल थलो काश्मिर एवं हिमालय प्रदेश रहेको बताएका छन् । उल्लिखित तथ्यहरूलाई हेर्दा आर्यहरू बसाइँसराइको क्रममा विभिन्न क्षेत्रमा रहेको देखिए पनि वैदिक समयमा उनीहरू हिमवत्खण्ड अन्तर्गत पन्जाब क्षेत्रको नजिक रहेको देखिन्छ ।
जसरी जताबाट आए पनि वैदिक सभ्यताका सुरुवातकर्ता भने आर्य नै हुन् भन्नेमा मतक्यैता छ । सामाजिक गतिशीलतासँगै वैदिक सभ्यताको विस्तारका क्रममा आर्यहरू पनि गैरआर्यसँगै मिसिन पुगेको देखिन्छ । आर्यबाहेक अन्य समूहलाई ‘हीन’” ठान्ने र आर्यहरूले आफ्नो समूहको पहिचान जोगाउन आर्य शुद्धता” कायम गर्न विभिन्न आर्य विधिविधान तथा अभ्यासको निर्माण गर्ने क्रममा विभिन्न संस्कारको निर्माण हुँदै गयो ।
वेदको रचना क्षेत्र
म्याक्सुलर, वेवर, मयुरका अनुसार ऋग्वेद संहिताको निर्माण पन्जाबमा भएको थियो । हापकिन्स, कीथलगायतका विद्वान्ले सरस्वती नदीको आसपास हालको अम्बालाको दक्षिण प्रदेशमा ऋग्वेदको सम्पादन कार्य भएको भनेका छन् । यस्तै ब्रुनहाफर, हर्टेल, हासिङको मत अनुसार ऋग्वेद अफगानिस्तान तथा इरान क्षेत्रमा रचना भएको थियो ।
यसै गरी सम्पूर्णानन्द, एसी दास, विश्वनाथ रेउ, राहुल सांकृत्यायन तथा पिएल भार्गवले ऋग्वेदको भौगोलिक क्षेत्रभित्र सैन्धव प्रदेशको प्रमुख सात नदी, सिन्धु, वितास्ता, असिक्नि, परुष्णी, विपाशा, सतुद्रि तथा सरस्वतीको क्षेत्रसमेत पर्ने बताएका छन् । ऋग्वेदमा पर्वत एवं नदीहरूका साथसाथै समुद्रको पनि उल्लेख भएको पाइन्छ ।
वर्तमान सिन्ध प्रदेश एवं पाकिस्तानको बलुचिस्तान क्षेत्रमा समुद्र क्षेत्र रहेको चर्चा गरिएको छ । सरस्वती प्रदेशलाई वैदिक साहित्यमा देवयानी भनिएको छ । अथर्ववेदको पृथ्वी सूक्तमा जुन देश तथा राष्ट्रको महिमा गान गाइएको छ त्यो सप्त सिन्धव भूमि हो भन्ने तर्क पनि छ ।
अधिकांश सन्दर्भमा वेदकालको भूगोल सप्तसिन्धुको तटीय क्षेत्र, सरस्वती नदी क्षेत्र र गङ्गा–यमुना क्षेत्रसँग सम्बन्धित रहेको भन्ने प्रसङ्ग पनि भेटिन्छन् । ऋग्वेदमा सप्तसिन्धव शब्दको प्रयोग छ ।
सप्तसिन्ध अन्तर्गतको सात नदीको पहिचानबारे पनि विद्वान्हरूमा मतान्तर रहेको देखिन्छ । वर्तमानको भौगोलिक स्थितिमा भारत र पाकिस्तानको अंशका रूपमा रहेको पन्जाब तथा त्यसको बृहत्तर भूखण्डलाई ऋग्वेदमा सप्तसिन्धव उल्लेख गरिएकोे देखिन्छ । यसरी हेर्दा वैदिक आर्यहरूको थलो तथा वेदको रचना क्षेत्र हिमालय पर्वत शृङ्खलाको काखको भाग हिमवत्खण्ड क्षेत्र रहेको निष्कर्ष निकाल्न सकिन्छ । यी क्षेत्र हालको नेपाल, भारत, पाकिस्तानको राजनीतिक सीमाभित्र रहेका छन् ।