• २१ वैशाख २०८३, सोमबार

अमेरिकाले लडेका युद्ध

blog

संयुक्त राज्य अमेरिका विश्वको शक्तिशाली राष्ट्र हो । उसलाई साँच्चिकै चुनौती दिने अर्को शक्ति राष्ट्र अहिले छैन भने पनि हुन्छ । त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश र निर्देश मान्न सबै बाध्य देखिन्छन् । अमेरिकालाई फेरि महान् बनाउने उनको रणनीति र कार्यनीति छ । 

साढे दुई सय वर्षको इतिहास हेर्दा युद्धबाटै जन्मेको अमेरिकाले अहिलेसम्म धेरै युद्ध लडेको छ । युद्ध लड्दालड्दै अमेरिका महाशक्ति राष्ट्र बनेको भन्न सकिन्छ । अमेरिकाको पहिचान, नीति र विश्वभरको प्रभावलाई आकार दिन धेरै युद्ध भए । क्रान्ति युद्धदेखि हालसम्मका धेरै युद्धमा संलग्न अमेरिकाकै कारण विश्व राजनीति प्रभावित र परिचालित रहन्छ । 

सन् १७७५ देखि १७८३ सम्म भएको अमेरिकी क्रान्ति पहिलो युद्ध थियो । यही युद्धको परिणामस्वरूप संयुक्त राज्य अमेरिकाको जन्म भयो । सन् १७७५ को जुन १४ मा दोस्रो महादेशीय कंग्रेसद्वारा संयुक्त राज्य अमेरिकाको पहिलो नियमित युद्ध बल, महादेशीय सेना स्थापना गरिएको थियो ।

अमेरिकी क्रान्ति पहिलो आधुनिक क्रान्ति थियो । लोकप्रिय सार्वभौमिकता, संवैधानिक अधिकार र कानुनको शासन जस्ता विश्वव्यापी आदर्शको समर्थनमा आफ्नो स्वतन्त्रताका लागि युद्ध लडिएको थियो । यही क्रान्तिले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि सन् १८१२ को युद्धले सङ्घ कायम राख्न, दासत्व उन्मूलन गर्न र अमेरिकी क्षेत्रको आकार बढाउन सहयोग ग¥यो ।

अमेरिकाले प्रथम विश्वयुद्धमा (सन् १९१४–१९१८) भाग लियो । यसबाट प्राप्त शक्तिले दोस्रो विश्वयुद्ध (१९३९–१९४५) लड्दै महाशक्तिका रूपमा उदायो । शीतयुद्धको समयमा वैचारिक द्वन्द्वले कोरियाली युद्ध र भियतनाम युद्ध जस्ता द्वन्द्वलाई बढावा दियो । आतङ्कवाद र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता समकालीन मुद्दालाई लिएर खाडी युद्ध, अफगानिस्तानको युद्ध र इराक युद्धलगायत अमेरिकाको प्राथमिकतामा परे ।

अमेरिकाले दोस्रो विश्वयुद्धपछि ३३ वटा युद्ध लडेको छ । तीमध्ये आक्रमण २३, गृहयुद्ध सात र बहुपक्षीय लक्षित युद्ध दुई वटा रहेका छन् । कोरियाली युद्ध (सन् १९५०–१९५३), भियतनाम युद्ध (सन् १९५५–१९७५), क्युबाली, बे अफ पिग्स (सन् १९६१), लेबनान (सन् १९८२–१९८४), ग्रेनाडा (सन् १९८३), लिबिया बम विस्फोट (सन् १९८४), ट्याङ्कर युद्ध–फारसको खाडी (सन् १९८४–१९८७), पनामा (सन् १९८९–१९९०), खाडी युद्ध (सन् १९८९–१९९१), इराक युद्ध ( सन् १९९१–१९९३), बोस्निया युद्ध (सन् १९९२–१९९५), हैटी युद्ध (सन् १९९४–१९९९), कोसोभो युद्ध (सन् १९९८–१९९९), अफगानिस्तान युद्ध (सन् २००१–२०२१), यमन युद्ध (सन् २००२–हालसम्म), इराक युद्ध (सन् २००३–२०११), पाकिस्तान युद्ध ( सन् २००४–२०१८), सोमालिया युद्ध (सन् २००७–हालसम्म), लिबिया युद्ध (सन् २०११), नाइजर युद्ध (सन् २०१३–हालसम्म), सिरिया युद्ध (सन् २०१४–हालसम्म) र  युक्रेन युद्ध (सन् २०२२–हालसम्म) रहेका छन् ।

गृहयुद्धका सन्दर्भमा अमेरिकाले लडेका युद्धमा भारत–चीन (सन् १९५९–१९७५), इन्डोनेसिया (सन् १९५८–१९६१), लेबनान (सन् १९५८), डोमिनिकन गणतन्त्र (सन् १९६८–१९६६), कोरिया डिएमजेड (सन् १९६६–१९६९), कम्बोडिया (सन् १९६७–१९७५), सोमालिया (सन् १९९१–हाल) रहेका छन् । बहुपक्षीय लक्षित युद्धमा अपरेसन ओसन सिल्ड हिन्द–महासागर (सन् २००८–२०१६), अपरेसन अब्जर्भेन्ट कम्पास–युगान्डा र मध्य अफ्रिका (सन् २०११–२०१७) पर्छन् ।

हाल अमेरिकाले शान्तिका लागि बल प्रयोग नीति लिएको छ । दोस्रो कार्यकालमा रहेका राष्ट्रपति ट्रम्पको आक्रामक बल प्रयोग नीतिको पहिलो सिकार भेनेजुयला भएको छ । छोटो सैन्य कारबाही गर्दै त्यहाँका निर्वाचित वामपन्थी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अपहरण गरेर अमेरिका लगिएको छ । उनीमाथि लागुऔषधलगायतको मुद्दा चलाइएको छ । त्यहाँको तेलमाथि अमेरिकी स्वामित्व कायम गरिँदै छ । गत वर्ष इरानका तीन वटा परमाणु केन्द्रमा भीषण बमवर्षा गरी क्षति पु¥याएको अमेरिकाले एक वर्षभित्रै दोस्रो पटक अहिले इजरायलसँग मिलेर इरानसँग युद्ध गरिरहेको छ ।

अमेरिकासँग अत्याधुनिक प्रविधियुक्त सैन्य शक्ति छ । स्थल सेनाभन्दा पनि हवाई सेना र जल सेना अब्बल छ ।  अमेरिकी सेनाले विश्वका जुनसुकै देशमा पनि आक्रमण गर्न सक्ने हैसियत राख्छ । आफ्नोतर्फ कमभन्दा कम क्षतिमा परिणाम निकाल्न सक्ने बृहत् सैन्य संरचना बनाएको अमेरिकाका पछिल्ला दबाबमूलक कारबाहीले धेरै मुलुकका नेतृत्वलाई झस्काएको छ ।

अमेरिका र  इजरायल मिलेर मार्च १ देखि इरानविरुद्ध भीषण आक्रमण गरेका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी तथा उनकी पत्नी, छोरी, ज्वाइँ, नातिनातिना, रक्षामन्त्री, सेना प्रमुखसहित थुप्रै नेता र उच्च अधिकारी मारिएका छन् । ३७ वर्षदेखि इरानको नेतृत्व गरेका ८६ वर्षीय सर्वोच्च नेता खामेनी मारिएसँगै इरान अत्यन्तै सङ्कटमा फसेको छ ।

त्यहाँ इस्लामिक अतिवादी सत्ताले जनताको हितलाई भन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिँदै आएको छ । जसले गर्दा त्यहाँका धेरै जनताले नेतृत्वको विकल्प खोजेका छन् । गत डिसेम्बर २८ देखि सुरु भएको जनविद्रोहमाथि सरकारले चरम दमन गर्दा हजारौँ इरानी मारिएका थिए । इरानको कट््टरवादी सत्ता ढालेर उदारवादी सत्ता ल्याउन सके इरानीहरूको जीवनस्तरमा सुधार आउनुका साथै पश्चिम एसियामा स्थायी शान्ति र विकास हुन्छ भन्ने अमेरिकी विज्ञहरूको मत रहेको छ ।

अतिवादी सत्ताबाट पीडित इरानका बहुसङ्ख्यक जनता पनि सत्ता परिवर्तनको पक्षमा छन् । राष्ट्रपति ट्रम्प इरानको सत्ता परिवर्तन नभएसम्म युद्ध रोक्ने पक्षमा देखिँदैनन् । इरानको परमाणु कार्यक्रमलाई लिएर बर्सौंदेखिको अन्तर्राष्ट्रिय नाकाबन्दीले इरानी अर्थ व्यवस्था अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । जनताको आवाज दबाएर र छिमेकी देशलाई छदम भेषमा तर्साएर शासन गर्ने इरानी नेतृत्वको रणनीति विफल हुँदै गएको छ । हमास, हेजबुल्लाह, हुथी, आइएसआई जस्ता लडाकु समूहलाई प्रयोग गरेर क्षेत्रीय आतङ्क सिर्जना गर्ने इरानी नेतृत्व स्वयम्का लागि आत्मघाती बन्दै छ । 

को थिए सर्वोच्च नेता खामेनी ? 

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी एक धर्मगुरु थिए । उनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए । उनले इस्लामिक गणतन्त्रका संस्थापक रुहोल्लाह खोमेनीको निधनपछि पद समाले । खामेनीले नै सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गर्दै अमेरिका समर्थित राजा मोहम्मद रेजा पह्लवी शाहलाई सत्ताबाट हटाएका थिए ।

खामेनी देशका आध्यात्मिक नेता मात्र नभई सरकार, सेना र न्यायपालिकामाथि अन्तिम तथा सर्वोच्च अधिकार राख्ने व्यक्ति थिए । आफ्नो शासनकालभर खामेनीले पश्चिमी देशहरूसँग तनावपूर्ण सम्बन्ध कायम राखे । उनले अमेरिकालाई इरानको प्रमुख शत्रु र त्यसपछि इजरायललाई दोस्रो शत्रुका रूपमा हेर्थे ।

उनको शक्तिको मुख्य आधार इरानको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड ‘कोर’ र बसिज अर्धसैनिक बल थियो । खामेनीको कार्यकालमा नै इरानले परमाणु कार्यक्रम अघि बढायो । सन् १९८० को दशकमा इराकले इरानमाथि हमला गरेपछि इरानले पश्चिमा शक्तिबाट उत्पन्न हुन सक्ने खतरा अन्त्यका लागि परमाणु कार्यक्रम सुरु गरेसँगै इरान–अमेरिका तनाव चर्किएको थियो । 

खामेनीले नै रिभोलुसनरी गार्ड र क्षेत्रीय प्रोक्सी नेटवर्कलाई बलियो बनाए तर पश्चिमी देशहरूको प्रतिबन्ध र आर्थिक सङ्कटका कारण इरानमा विस्तारै विरोधको स्वर बढ्यो । सन् २०२२ मा महसा अमिनी आन्दोलनसहित केही आन्दोलन उनले कठोरतापूर्वक दमन गरेका थिए । गत २८ डिसेम्बरदेखि सुरु भएको सरकार विरोधी आन्दोलनमा मात्रै हजारौँ प्रदर्शनकारी मारिए । 

खामेनीको शासनकै समयमा सुरु भएको परमाणु कार्यक्रमबारे सन् २०१५ मा बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा अमेरिकासहितका छ देशसँग परमाणु सम्झौतासमेत गरेका थिए तर ओबामा सत्ताबाट हटेर डोनाल्ड ट्रम्प आएलगत्तै उनी यो सम्झौताबाट पछि हटे । अनि तनाव फेरि बढ्यो । यस अवधिमा इरानले उच्चस्तरमा युरेनियम संवर्धन जारी राख्यो । क्षेत्रीयस्तरमा खामेनीले ‘एक्सिस अफ रेजिस्टेन्स’ अनुसार हेज्बुल्लाह, हुथी, हमाससहितका विद्रोही समूहलाई सहयोग गर्ने नीति लिए ।   

–युवामञ्च  

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।