• ५ चैत २०८२, बिहिबार

अन्तर्राष्ट्रिय गतिविधि

सत्ता गुमाउन मात्र बाँकी

blog

अमेरिका र इजरायल जसरी पनि इरानलाई हराउने पक्षमा छन् । अमेरिकाका राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानी अतिवादी इस्लामिक सत्ता परिवर्तन गराउने र त्यहाँका परमाणु कार्यक्रम सधैँका लागि अन्त्य गराउने पक्षमा हुनुहुन्छ । त्यसका लागि दुवै नेताले आवश्यक परे परमाणु हतियार प्रयोग गर्नेसम्मको तयारी गर्नुभएको समाचार बाहिर आएको छ ।

युद्धले विश्व शान्ति ओझेलमा परेको छ । विश्व संस्था संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर भएकाले विश्व शान्ति ओझेलमा परेको हो । विगत पाँच वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ । यसको प्रभाव विश्वव्यापी रूपमा परेको छ । यो युद्ध अन्त्यका लागि गरिएका कूटनीतिक प्रयास सफल नभएको अवस्थामा अहिले पश्चिम एसिया भीषण युद्धमा फसेको छ । इरानको परमाणु कार्यक्रमलाई निहुँ बनाएर अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेसँगै युद्ध सुरु भएको हो । युद्धमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित ५० जनाभन्दा बढी नेता तथा उच्च अधिकारी मारिएका छन् । बालबालिका, विद्यार्थी, शिक्षकलगायत डेढ हजारभन्दा बढी इरानी पनि युद्धको सिकार भइसकेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न पटक पटक चेतावनी दिनुभएको छ । इरानले अन्तिमसम्म युद्ध लड्ने अडान लिँदा युद्धले पश्चिम एसिया चरम सङ्कटमा फसेको छ । त्यहाँ फस्टाएको हवाई र पर्यटन उद्योग तहसनहस हुँदै छ । युद्धको भय र त्रासले जनजीवन अस्तव्यस्त छ । इरानको अतिवादी हठले सत्ताबाहेक सबै चिज गुमाइसकेको छ । अकल्पनीय क्षति भोगेको छ । 

अमेरिका र इजरायल जसरी पनि इरानलाई हराउने पक्षमा छन् । अमेरिकाका राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानी अतिवादी इस्लामिक सत्ता परिवर्तन गराउने र त्यहाँका परमाणु कार्यक्रम सधैँका लागि अन्त्य गराउने पक्षमा हुनुहुन्छ । त्यसका लागि दुवै नेताले आवश्यक परे परमाणु हतियार प्रयोग गर्नेसम्मको तयारी गर्नुभएको समाचार बाहिर आएको छ । अमेरिकाले ठुलो आकारको बम वर्षक विमान बेलायतमा ल्याइसकेको छ । परमाणु हतियारसहितको युद्धपोत अरब सागरमा तैनाथ छ । यस्तो अवस्थामा नयाँ चयन गरिएका इरानी सर्वोच्च नेता मोजस्तबा खामेनीले युद्ध रोक्ने पक्षमा देखिनुभएको छैन । मारिएका सर्वोच्च नेताका छोराले पनि अडान छाड्नुभएन भने पिताकै नियति भोग्नुपर्ने सम्भावना बढेको छ । अमेरिका र इजरायलले नेतृत्व अस्वीकार गर्दै उहाँलाई पनि आक्रमणको निसाना बनाउने चेतावनी दिइसकेका छन् । युद्धकै क्रममा उहाँ पनि घाइते बन्नुभएको छ । उहाँले परिवारका अधिकांश सदस्य गुमाइसक्नुभएको छ । अमेरिका र इजरायलसँग नझुक्ने इरानी अडानले अकल्पनीय क्षति निम्त्याउँदै छ । रुस र चीनले युद्ध अन्त्यका लागि युद्धरत दुवै पक्षलाई आग्रह गरेका छन् । 

यो युद्धसँगसँगै विश्वमा फेरि परमाणु हतियारको होडबाजी बढेको छ । अमेरिका र रुसबिचको परमाणु हतियार सन्धिको म्याद समाप्त भएको छ । ‘न्यु स्टार्ट’ परमाणु सन्धिको म्याद सकिएसँगै परमाणु हतियारको दुरुपयोग हुने सम्भावना पनि बढेको छ । जर्मनीको पोट्सडाम विश्वविद्यालयका प्राध्यापक हर्मन वेन्टकरका अनुसार दोस्रो विश्वयुद्धको समयमा परमाणु हतियार निर्माण गर्ने प्रयास भयो । यो गोप्य अनुसन्धान परियोजनालाई ‘म्यानहट्टन प्रोजेक्ट’ भनिन्थ्यो । अमेरिकाको लस आलामोसमा परमाणु बम बनाउन सफलता मिल्यो । यो युद्धमा अमेरिकाले जापानमाथि अणुबम प्रहार गर्दा लाखौँ मानिस मारिए । अणुबम प्रहार गर्ने अमेरिका अहिलेसम्म विश्वको एक मात्र देश हो ।

वेन्टकरका अनुसार तत्कालीन सोभियत सङ्घले एक जासुसमार्फत म्यानहट्टन प्रोजेक्टबारे जानकारी पाएपछि आफ्नै परमाणु बम बनाउन थाल्यो । सन् १९४९ मा काजाखस्तानमा (त्यतिबेला सोभियत सङ्घको हिस्सा) यसको परीक्षण गरियो । यहीँबाट अमेरिका र सोभियत सङ्घबिच परमाणु हतियारको होड सुरु भयो । दुवै देशले परमाणु युद्धको जोखिम टार्न हतियार नियन्त्रण आवश्यक रहेको महसुस गरे तर त्यसका लागि ठोस कदम चाल्न धेरै वर्ष लाग्यो ।

सन् १९७० को दशकदेखि अन्तरमहादेशीय क्षेप्यास्त्र जस्ता सामरिक हतियार नियन्त्रणका प्रयास सुरु भए । सन् १९७१ मा ‘साल्ट–१’ र १९७९ मा ‘साल्ट–२’ वार्ता भए । ‘स्ट्राटेजिक आम्र्स लिमिटेसन टक्स’ (साल्ट–१) अन्तर्गत पहिलो पटक परमाणु क्षेप्यास्त्रको उत्पादन सीमित गर्ने सहमति भयो । यद्यपि सबै सामरिक हतियार यसमा समेटिएका थिएनन् ।

सन् १९७९ मा सोभियत सङ्घले अफगानिस्तानमा आक्रमण गरेपछि अमेरिकाले साल्ट–२ अनुमोदन गरेन । दुवै देशले व्यवहारमा सन्धिका सर्त पालना गरिरहे । पछि सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स सन्धि’ (आइएनएफ) मा हस्ताक्षर गरे । सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्बाचोभ र अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनको परमाणु हतियाररहित विश्वको परिकल्पना अनुसार आइएनएफ सन्धि सम्भव भएको थियो । यस सन्धि अन्तर्गत पाँच सयदेखि ५५ सय किलोमिटर दुरीसम्म मार गर्ने परमाणु क्षेप्यास्त्र नष्ट गर्ने निर्णय गरियो । सन्धि कार्यान्वयनका लागि कडा अनुगमन व्यवस्था पनि थियो ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को आरोप के छ भने रुसले सन् २००८ मा मध्यम दुरीका क्षेप्यास्त्र विकास गरेर सन्धि उल्लङ्घन ग¥यो । रुसले यी आरोप अस्वीकार ग¥यो । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिका सन् २०१९ मा आइएनएफ सन्धिबाट बाहिरियो । पछि रुसले पनि यसको पालना नगर्ने घोषणा ग¥यो । अमेरिकास्थित गैरसरकारी संस्था ‘बुलेटिन अफ दी एटोमिक साइनटिस्ट’ का प्रमुख अलेक्जान्द्रा बेलका अनुसार हाल नौ देशसँग करिब १३ हजार परमाणु हतियार छन् । तीमध्ये रुससँग करिब चार हजार र अमेरिकासँग ३७ सय परमाणु हतियार छन् । भारत, पाकिस्तान, उत्तर कोरिया, फ्रान्स र बेलायतसँग पनि परमाणु हतियार छन् । इजरायलले भने आफ्ना परमाणु हतियार भएको न पुष्टि गरेको छ न त अस्वीकार नै । अनुमान अनुसार इजरायलसँग करिब ९० परमाणु हतियार छन् । 

परमाणु युद्धले विश्व नै नष्ट हुन सक्ने चिन्ताबिच सन् १९६२ मा क्युबा क्षेप्यास्त्र सङ्कट उत्पन्न भयो, जसमा अमेरिका र सोभियत सङ्घ परमाणु युद्धको नजिक पुगे । १३ दिनसम्म चलेको सङ्कट कूटनीतिक प्रयासबाट ट¥यो । यसपछि सन् १९७० मा परमाणु अप्रसार सन्धि (एनपिटी) लागु भयो । त्यति बेलाका पाँच परमाणु शक्ति–अमेरिका, सोभियत सङ्घ, बेलायत, फ्रान्स र चीनले क्रमशः आफ्ना परमाणु हतियार घटाउने र गैरपरमाणु देशहरूले परमाणु हतियार नबनाउने सहमति गरे । बदला स्वरूप गैरपरमाणु देशलाई शान्तिपूर्ण प्रयोजनका लागि परमाणु प्रविधि दिने व्यवस्था गरियो । शीतयुद्धको चरम समयमा ७० हजारभन्दा बढी परमाणु हतियार रहेकामा अहिले सङ्ख्या घटाएर १३ हजारमा सीमित गरिएको छ । हाल १८९ देश एनपिटीका सदस्य छन् । भारत, पाकिस्तान र इजरायल भने यसमा सहभागी छैनन् । उत्तर कोरिया पछि यसबाट बाहिरियो ।

अमेरिका–रुसबिचको ‘न्यु स्टार्ट’ सन्धि अन्तिम प्रमुख परमाणु हतियार नियन्त्रण सन्धि मानिन्छ । सन् २०१० मा हस्ताक्षर भई २०११ देखि लागु भएको यस सन्धि अन्तर्गत दुवै देशले तैनाथ परमाणु हतियारको सङ्ख्या घटाए । कोभिड महामारी, रुस–युक्रेन युद्ध र आपसी अविश्वासका कारण यसको कार्यान्वयन अवरुद्ध भयो । रुसले अमेरिकी निरीक्षण रोक्यो भने अमेरिकाले रुसमाथि उल्लङ्घनको आरोप लगायो । यो सन्धिको गत फेब्रुअरी ५ मा म्याद सकियो । जन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक नताली टोक्चीका अनुसार विश्वको हतियार नियन्त्रण व्यवस्था कमजोर बन्दै गएको छ । ‘न्यु स्टार्ट’ समाप्त भएपछि परमाणु हतियार सीमित गर्ने बाध्यकारी नियम रहने छैनन् । बहुपक्षीय सन्धिको सम्भावना न्यून छ किनभने चीन, भारत, पाकिस्तान जस्ता देशहरू समेट्न जटिल छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन्धिको म्याद समाप्त हुनुलाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका निम्ति गम्भीर समय’ भन्नुभएको छ । उहाँले वासिङ्टन र मस्कोलाई नयाँ सन्धि गर्न आह्वान गर्दै दशकौँ यता परमाणु अस्त्र प्रयोगको खतरा अत्यधिक बढेको पनि औँल्याउनुभएको छ । इसाई धर्मगुरु पोप लिओले पनि अमेरिका र रुसलाई सन्धि नवीकरण गर्न आह्वान गर्नुभएको छ । 

अमेरिका र सोभियत सङ्घले सुरुमा सन् १९९१ मा हस्ताक्षर गरेको स्टार्ट सन्धिले दुवै देशलाई छ हजारभन्दा धेरै परमाणु वारहेड परिचालन गर्नबाट रोकेको थियो । त्यसको नयाँ संस्करण सन् २०१० मा प्रागमा हस्ताक्षर गरियो । न्यु स्टार्ट नामक उक्त सन्धि अमेरिका र विघटित सोभियत सङ्घको उत्तराधिकारी रुसबिच भएको थियो । युक्रेन युद्धको तनावका माझ रुसले उक्त सन्धि तीन वर्षअगाडि नै निलम्बन गरेको बताए पनि दुवै देशले सन्धिको पालना जारी राखेको ठानिएको थियो । यो सन्धिले परमाणु हतियारको अनियन्त्रित विस्तार रोक्नुका साथै विशाल परमाणु अस्त्र भण्डार भएका दुई देशबिच पारदर्शिता कायम गराएको थियो ताकि एकअर्काको नियतबारे गलत निक्र्योल हुन नपुगोस् । 

बेलायतस्थित आरयुएसआई शोध संस्थाका वरिष्ठ अनुसन्धानकर्ता डार्या डोल्जिकोभाले ‘न्यु स्टार्ट’ सन्धिको म्याद समाप्त हुनुलाई चिन्ताजनक अवस्था भन्नुभएको छ । अहिले अमेरिका स्वयम् पनि असुरक्षित भएको महसुस गर्दै छ । राष्ट्रपति ट्रम्पले उत्तर अमेरिकालाई लामो दुरीका अस्त्रबाट जोगाउन ‘गोल्डन डोम’ प्रणाली विकास गर्ने योजना अघि सार्नुभएको छ । अमेरिका, रुस, चीन र उत्तर कोरियाले लामो दुरीका हाइपरसोनिक क्षेप्यास्त्र विकास गरिरहेका छन् । तिनको गति छ हजार ४३७ किलोमिटर प्रतिघण्टा रहने र तिनलाई मार गिराउन कठिन हुने ठानिएको छ । ती विस्तार भइरहेका सैन्य क्षमताका कारण नयाँ अस्त्र नियन्त्रण सन्धि गर्न झन् कठिन हुने देखिएको छ । 

न्यु स्टार्ट सन्धि समाप्त भएपछि जापानका आणविक बम पीडितहरूले विश्व विनाशकारी युद्धतर्फ उन्मुख भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा प्रहार गरेको आणविक बमबाट जोगिएका ९३ वर्षीय तेरुमी तानाकाले संसार विनाशको दिशामा अघि बढिरहेको सङ्केतहरू स्पष्ट देखिन थालेको बताउनुभयो । सन् २०२४ को नोबेल शान्ति पुरस्कार बिजेता संस्था निहोन हिदान्क्योका सहअध्यक्ष तानाकाका अनुसार आणविक युद्ध अब भविष्यको कुरा नभई नजिकैको यथार्थ बन्न सक्ने डर छ । विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकालाई साँच्चिकै चुनौती दिने अर्को शक्ति राष्ट्र अहिले छैन भने पनि हुन्छ । राष्ट्रपति ट्रम्पको आदेश र निर्देश सबैलाई बाध्यकारी जस्तो भएको छ । अमेरिकालाई फेरि महान बनाउने उहाँको रणनीति र कार्यनीति छ । अहिले विश्वभरि नै उहाँको दबदबा र प्रभाव छ । 

साढे दुई सय वर्षको इतिहासमा युद्धबाटै जन्मेको अमेरिकाले अहिलेसम्म धेरै युद्ध लडेको छ । अमेरिका युद्ध लड्दा लड्दै महाशक्ति राष्ट्र बनेको हो । अमेरिकाको पहिचान, नीति र विश्वभरको प्रभावलाई आकार दिन धेरै युद्ध भए । क्रान्ति युद्धदेखि हालसम्मका धेरै युद्धमा संलग्न अमेरिकाकै कारण विश्व राजनीति प्रभावित र परिचालित छ । सन् १७७५ देखि १७८३ सम्म भएको अमेरिकी क्रान्ति पहिलो युद्ध थियो जसमा अमेरिकाले भाग लिएको थियो । यही युद्धको परिणामस्वरूप संयुक्त राज्य अमेरिकाको जन्म भयो । सन् १७७५ को जुन १४ मा दोस्रो महादेशीय कांग्रेसद्वारा संयुक्त राज्य अमेरिकाको पहिलो नियमित लडाइँ बल, महादेशीय सेना स्थापना गरिएको थियो ।

अमेरिकी क्रान्ति पहिलो आधुनिक क्रान्ति थियो । लोकप्रिय सार्वभौमिकता, संवैधानिक अधिकार र कानुनको शासन जस्ता विश्वव्यापी आदर्शहरूको समर्थनमा आफ्नो स्वतन्त्रताको लागि युद्ध लडिएको थियो । यही क्रान्तिले बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि सन् १८१२ युद्धले सङ्घ कायम राख्न, दासत्व उन्मूलन गर्न र अमेरिकी क्षेत्रको आकार बढाउन सहयोग ग¥यो । 

अमेरिकाले प्रथम विश्वयुद्धमा (सन् १९१४ देखि १९१८) भाग लियो । यसबाट प्राप्त शक्तिले दोस्रो विश्वयुद्ध १९३९ देखि १९४५) लड्दै महाशक्तिका रूपमा उदायो । शीतयुद्धको समयमा वैचारिक द्वन्द्वले कोरियाली युद्ध र भियतनाम युद्ध जस्ता द्वन्द्वलाई बढावा दियो । आतङ्कवाद र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता समकालीन मुद्दाहरूलाई लिएर खाडी युद्ध, अफगानिस्तानको युद्ध र इराक युद्धलगायत अमेरिकाको प्राथमिकतामा परे । अमेरिकाले दोस्रो विश्वयुद्धपछि ३३ वटा युद्ध लडेको छ । तीमध्ये आक्रमण २३, गृहयुद्ध सात र बहुपक्षीय लक्षित युद्ध दुई वटा रहेका छन् । इरानसँगको जारी युद्ध समकालीन विश्वकै घातक युद्ध बन्दै छ । 

  

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।