गुणबहादुर रोका
सुलीकोट, वैशाख १७ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ स्थित रेसेफाँट क्षेत्रमा निर्माण हुन लागेको वाटर एनर्जी हाइड्रो परियोजनाको सुरुङ (टनेल) निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। उक्त सुरुङ निर्माण कार्यको शुभारम्भ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले विशेष कार्यक्रमबिच उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा वाटर एनर्जी कम्पनीका प्रतिनिधिहरू, वडा नं. ५ का जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सोही कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुरुङले परियोजनाको महत्त्व, यसले स्थानीय विकासमा पु¥याउने योगदान तथा भविष्यमा यस क्षेत्रको आर्थिक उन्नतिमा खेल्ने भूमिकाबारे चर्चा गर्नुभयो।
उद्घाटनसँगै सुरुङ निर्माणको प्रारम्भिक चरणअन्तर्गत ब्लास्टिङ (विस्फोटन) कार्य पनि सुरु गरिएको छ। यसले परियोजनाको कामले गति लिने विश्वास गरिएको छ। एनर्जी हाइड्रो परियोजनाका अनुसार निर्धारित समयभित्रै सुरुङ निर्माण सम्पन्न गरी ऊर्जा उत्पादनको लक्ष्य हासिल गर्ने योजना रहेको छ।
स्थानीय स्तरमा रोजगारी सिर्जना, पूर्वाधार विकास तथा ऊर्जा पहुँच विस्तारमा यस परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “उत्तरी गोरखामा विकासका यस्ता ठुला आयोजनाहरूले गाउँपालिकाको समग्र समृद्धिमा टेवा पुर्याउने छन्।”
समग्रमा रेसेफाँट क्षेत्रमा सुरु भएको यस हाइड्रो परियोजनालाई स्थानीयवासीले उत्साहका साथ स्वागत गरेका छन्। परियोजना सफलतापूर्वक सम्पन्न भएमा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय परिवर्तन आउने विश्वास गरिएको छ।