• १७ वैशाख २०८३, बिहिबार

धार्चेको कालोभीरमा ढुंगा हटाएपछि सडक सुचारु

blog

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ कालोभीरमा ढुंगा हटाएपछि सञ्चालनमा आएको सडक। तस्बिर सौजन्य : राज गोरखाली

गुणबहादुर रोका
सुलीकोट, वैशाख १७ गते ।
गोरखा जिल्लाको बेनीघाट–लार्के सडकखण्डमा गएको पहिरो हटाएपछि झन्डै २५ दिनपछि कालोभीर क्षेत्रबाट सडक पुनः सञ्चालनमा आएको छ। गत चैत २२ गतेदेखि अवरुद्ध भएको उक्त सडक बिहीबारदेखि पूर्ण रूपमा सुचारु भएको हो।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ स्थित कालोभीर क्षेत्रमा खसेको सुख्खा पहिरो लामो प्रयासपछि हटाइएपछि सवारीसाधनको आवतजावत पूर्ण रूपमा सुरु भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो।

सडक अवरुद्ध हुँदा हिमालपारिको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको थियो। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “उत्तरी गोरखा पुग्ने मुख्य सडक अवरुद्ध भएपछि अस्थायी ट्र्याक खोली सवारी आवतजावत गराइए पनि पछिल्ला दिनमा परेको अविरल वर्षाले उक्त ट्र्याक बगाएपछि समस्या सिर्जना भएको हो।”

खाद्यान्न, औषधी तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी ठप्प हुँदा स्थानीयवासी मारमा परेका थिए भने विकास निर्माणका कामहरू पनि प्रभावित भएका थिए। गाउँपालिकाको सहयोगमा स्काभेटर प्रयोग गरी ठुला ढुंगा हटाइएपछि २५ दिनमा सडक सञ्चालनमा ल्याउन सकिएको धार्चे गाउँपालिकाले जनाएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि खाद्यान्न ढुवानी र आवतजावतमा सहज भएको चुमनुब्री गाउँपालिका–३ फिलिमका स्थानीय युवा दोर्जे लामाले बताउनुभयो। उहाँका अनुसार यसले पर्यटकीय गन्तव्य मनास्लु क्षेत्र तथा चुम भ्यालीतर्फ जाने पर्यटकहरूलाई समेत ठुलो राहत पुगेको छ।

सडक सञ्चालनमा आएसँगै उत्तरी गोरखाको होटल व्यवसाय तथा पर्यटन गतिविधिमा देखिएको अवरोध हट्दा स्थानीय व्यवसायमा सकारात्मक प्रभाव परेको फिलिमका होटल व्यवसायी फुञ्जो लामाले बताउनुभयो।

सडक खुलाउन धार्चे गाउँपालिकाले स्थानीय दुई जलविद्युत् कम्पनीसँग सहयोग मागेको थियो। सोहीअनुसार साहस ऊर्जा र यारु खोला हाइड्रोपावर कम्पनीले संयुक्त रूपमा पहिरो पन्छाउने काम सम्पन्न गरी सडक सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गाउँपालिकाले जनाएको छ।

हाल उक्त सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै स्थानीयवासीमा राहत महसुस भएको छ। अब नियमित आपूर्ति, आवतजावत तथा विकास निर्माणका कामहरू सहज रूपमा अघि बढ्ने विश्वास लिइएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो।