काठमाडौँ, वैशाख १६ गते । देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ जारी गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार बुधबार विशेषगरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा बागमती प्रदेशका नवलपुर र चितवन, मधेश प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङलगायत आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।
यो मौसमी प्रणाली पश्चिमबाट सुरु भई क्रमशः पूर्वतर्फ सर्ने देखिएको छ । हावाहुरी, मेघगर्जन र चट्याङ सुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र बस्न र झ्याल–ढोका राम्ररी बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ ।
घरबाहिर आगो बालिएको भए तुरुन्त निभाउन, हावाहुरीका कारण आगो उडेर बस्ती वा वनजंगलमा डढेलो लाग्न सक्ने जोखिम रहेको बताइएको छ । कमजोर संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तार नछुन सचेत गराइएको छ ।
यात्रामा रहेका व्यक्तिलाई हावाहुरी सुरु हुनासाथ सुरक्षित स्थानमा सवारीसाधन रोक्न र रुखमुनि पार्किङ नगर्न सुझाव दिइएको छ । हावाहुरीका कारण रुख ढल्न सक्ने जोखिम रहेको छ ।
हवाई उडानका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो मौसम निगरानी प्रणालीमार्फत समन्वय गरिरहेको जनाइएको छ । मौसम प्रतिकूल भए उडान मार्ग परिवर्तन (रुट सिफ्ट) वा डाइभर्ट गरिनेछ ।
कार्यकारी प्रमुख भट्टका अनुसार विपद्को अवस्थामा तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयंसेवकहरूलाई ‘हाई अलर्ट’मा राखिएको छ । कुनै दुर्घटना भए नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र विपद् उद्धारको टोल–फ्री नम्बर ११४९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले प्रत्येक दुई घण्टामा मौसमको अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ । प्राधिकरणले आधिकारिक सूचना र मौसम बुलेटिन नियमित रूपमा अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।