राजकुमार भट्टराई
खोटाङ, वैशाख १६ गते । सम्झौता विपरीत इँटा प्रयोग भएको पाइएपछि हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनको वाल भत्काइएको छ ।
निर्माणाधीन रहेको भवनमा सम्झौता विपरीत इँटा प्रयोग भएको पाइएको नगरपालिकाले जनाएको छ । सुविधा सम्पन्न नगरपालिकाको प्रशासनिक भवन गत मङ्सिरमा शिलान्यास भएको थियो । भवन निर्माणको जिम्मा पाएको आकाश निर्माण सेवा निर्माण कम्पनीले भवनको कोठामा वाल निर्माण गर्दा कमसल इँटा प्रयोग भएको पाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो ।
सम्झौतामा एक नम्बरको इँटा प्रयोग गर्ने भनिएको छ । वाल निर्माणको सुरुमा सोही अनुसार इँटा लगाए पनि बिचमा दुई नम्बरको इँटा प्रयोग भएको पाइएको मेयर राईले बताउनुभयो । कमसल इँटा प्रयोग भएको पाइएपछि गुणस्तरहीन काम गर्ने छुट कसैलाई नभएको भन्दै नगरपालिकाको टोलीले मङ्गलबार वाल भत्काएको हो ।
वाल भत्काएर पुनः सम्झौता अनुसार इँटा प्रयोग गर्न निर्देशन दिइएको मेयर राईले बताउनुभयो । १८ महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको निर्माण कम्पनीले निर्माणको काम तिव्ररूपमा गरिरहेको छ । तर, कमसल सामग्री प्रयोग भएको पाइएपछि वाल भत्काएर पुनः बनाउन लगाइएको मेयर राईको भनाइ छ ।