विदुर आचार्य
चौतारा, वैशाख १६ गते । सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानीको अवधारणा अनुरूप भोटेकोशी–५ जलविद्युत् आयोजना सुरु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेडले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले स्थानीय समुदायको हितलाई उच्च प्राथमिकता दिँदै ४६ मेघावाटको आयोजना निर्माण कार्य सुरु गरेको हो ।
विद्युत् उत्पादन गर्ने माध्यम मात्र नभई, स्थानीय विकास, रोजगारी, पर्यावरण संरक्षण र दीर्घकालीन समृद्धिको एउटा महत्त्वपूर्ण आधार बन्दै गएको जलविद्युत् व्यवसायी मोहनबिक्रम कार्कीले बताउनुभयो । आयोजनाको डिजाइन गर्दा रक क्लास (ढुङ्गा तथा भूगर्भको अवस्था) को विस्तृत अध्ययन गरी बस्ती पूर्णरूपमा सुरक्षित हुनेगरी संरचना निर्माण गरिएको छ ।
कुनै पनि जोखिमलाई न्युनीकरण गर्न वैज्ञानिक तथा प्राविधिक रूपमा सबल डिजाइन तयार पारिएको छ । आयोजनाले सबै कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूको मागलाई अधिकतम सम्बोधन गर्दै बाह्रबिसे बजार क्षेत्र, कल्लेरी, खरिबोटे, जम्बू, नेपालगाउँ, सिरिसे र सिगार्चेका स्थानीय सरोकारवालासँग सम्झौता भइसकेको छ ।
एजी रिसर्च एन्ड ट्रृनिग प्रालिमार्फत अतिप्रभावित क्षेत्रको घरधुरी सर्वेक्षण गरी रिपोर्ट समेत तयार पारिएको छ । आयोजनाले भविष्यमा स्थानीयहरूका उचित माग आएमा थप सम्झौता गर्न पनि तयार रहेको बताएको छ । आयोजनाले खानेपानीको सम्भावित प्रभावलाई ध्यानमा राखी खानेपानीका योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
यस बाहेक हिउँदको समयमा खोलामा कम्तीमा २० प्रतिशत पानी (आयोजनाले खोलामा १० प्रतिशत छोड्ने र बाँकी खोला–खोल्साबाट) निरन्तर बग्ने व्यवस्था मिलाइएको छ । आयोजनाको सुरुङ्गबाट ५० क्युसेक पानी जाने भएकाले उच्च बाढीको अवस्थामा समेत बाह्रबिसे क्षेत्रलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
आयोजनाले निर्माण चरणमा प्रवेश गर्दा नै ८२ जनाभन्दा बढी स्थानीय युवाहरूलाई रोजगारी दिइरहेको छ । कामदार छनोट गर्दा सिप, क्षमता र योग्यतालाई प्राथमिकता दिइएको छ ।
यसबाहेक, आयोजनामा प्रयोग हुने मेसिन तथा उपकरणहरू सम्भव भएसम्म स्थानीयबाट नै उपलब्ध गराइएको छ, जसले स्थानीय व्यवसायीलाई समेत फाइदा पुगेको छ ।
यो आयोजना ३० वर्ष पश्चात् नेपाल सरकारलाई निःशुल्क रूपमा हस्तान्तरण हुने भएकाले यो सरकारकै सम्पत्ति हो । आयोजना सञ्चालन अवधिभर सरकारलाई आयोजनाले कर तथा रोयल्टीहरू बुझाउने छ, जसको हिस्सा स्थानीय तहलाई समेत प्राप्त हुने छ ।
स्थानीय बासिन्दालाई १० प्रतिशत शेयरको ग्यारेन्टी गरिएको छ भने संस्थापक शेयरमा पनि स्थानीयलाई प्राथमिकता दिइने आयोजनाले जनाएको छ । आयोजनाको नेतृत्व मोहनबिक्रम कार्कीले गरिरहनुभएको र उहाँले अघिल्ला आयोजनाहरू समेत तोकिएको लागत र समय सीमाभन्दा अगाडि नै सफलतापूर्वक निर्माण सम्पन्न गर्नुभएको छ । उहाँको नेतृत्वमा बनेका आयोजनाको शेयर मूल्य राम्रो हुने भएकाले स्थानीयले पाउने शेयरबाट पनि दीर्घकालीन फाइदा हुने देखिन्छ ।
कालिका इनर्जी लिमिटेडले यो आयोजनालाई ‘सिन्धुपाल्चोकको पानी, सिन्धुपाल्चोककै लगानी’ को अवधारणामा अगाडि बढाएको छ । आयोजनाले सम्भावित जोखिमलाई सम्बोधन गर्न रकमको प्रबन्ध समेत गरेको छ । यो आयोजना पूरा भएपछि सिन्धुपाल्चोक जिल्लाको विद्युत् उत्पादन क्षमता थप वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान हुने, रोजगारी बढ्ने र विकासको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।