• १५ वैशाख २०८३, मङ्गलबार

छोरा डाक्टर बनेपछि क्याम्पस भर्ना हुनुभयो आमा

blog

चन्द्रमाया परियार

अमरराज नहर्की

तनहुँ, वैशाख १५ गते । जेठा छोरा बागलुङस्थित धौलागिरि अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् भने कान्छा छोरा क्यानडामा चिकित्साशास्त्र नै अध्ययन गर्दै छन् । छोरालाई पढाएर सक्षम बनाएपछि ४७ वर्षीया आमा चन्द्रमाया परियार अहिले आफैँ स्नातकतह अध्ययनका लागि क्याम्पस भर्ना हुनुभएको छ ।

तनहुँको व्यास नगरपालिकाकी कार्यपालिका सदस्यसमेत रहनुभएकी परियार झन्डै ३२ वर्षको अन्तरालपछि स्नातकतह प्रथम वर्षको विद्यार्थी बनेर कक्षाकोठामा फर्कनुभएको हो । “आफ्नो सम्पूर्ण समय र शक्ति छोराको भविष्य बनाउन खर्च गरेँ, उनीहरू चिकित्सक बनेर देश–विदेशमा स्थापित भएपछि अब मेरो अधुरो सपना पूरा गर्ने पालो आएको महसुस गरेकी छु,” उहाँले उत्साहका साथ सुनाउनुभयो ।

वि.सं. २०५० मा कक्षा ९ मा पढ्दापढ्दै विवाह भएपछि चन्द्रमायाको पढाइ रोकिएको थियो । व्यास–८, बाहुनपोखरामा विवाह भएपछि घरव्यवहार, खेतीपाती र सन्तानको लालनपालनले गर्दा उहाँले चाहेर पनि उच्च शिक्षालाई निरन्तरता दिन सक्नुभएको थिएन । यद्यपि, पढ्ने तिर्खा मेट्न उहाँले विवाहपछि पनि सङ्घर्ष गर्दै प्रवेशिका र कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

हाल दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा शिक्षाशास्त्र सङ्काय अन्तर्गत नेपाली विषय लिएर अध्ययन सुरु गर्नुभएकी उहाँलाई श्रीमान् सूर्यबहादुर परियार र छोराहरूले मुख्य प्रेरणा दिएका छन् । उहाँका श्रीमान् प्राथमिक द्वितीय श्रेणीको शिक्षक हुनुहुन्छ ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले चन्द्रमाया अरूका लागि बाटो देखाउने ‘पथप्रदर्शक’ बन्न सफल भएको बताउनुभयो । उमेर र पदले सिक्ने कुरालाई रोक्दैन भन्ने सन्देश उहाँले दिनुभएको हड्खलेको भनाइ छ । राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै शैक्षिक योग्यता बढाउने उहाँको साहसिक कदमको यतिबेला जिल्लाभर प्रशंसा भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार बताउनुहुन्छ ।