• १५ वैशाख २०८३, मङ्गलबार

एनभिए भलिबल लिग : न्यु डायमन्ड फाइनलमा

blog

न्यु डायमन्ड स्पोर्ट्स क्लबका खेलाडी ।

काठमाडौँ, वैशाख १५ गते । न्यु डायमन्ड स्पोर्ट्स क्लब १०औँ पिएम कप एनभिए भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा न्यु डायमन्डले एपिएफ क्लबलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । न्यु डायमन्डले एपिएफमाथि २५–२१, २०–२५, २५–१८, २५–२१ को जित निकालेको हो ।

न्यु डायमन्डले चार खेलबाट १२ अङ्क बनाएको छ । यस हारले एपिएफको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अब एपिएफले बुधबार नेपाल पुलिस क्लबसँग खेल्ने छ । एपिएफलाई फाइनल पुग्न पुलिसलाई हराउनु पर्ने छ । 

यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१५, २५–१०, २५–५ को नतिजा निकालेको हो । आर्मी र सुदूरपश्चिम उपाधि होडबाट बाहिरिसकेका छन् । वैशाख १९ गतेसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहेको छ । 

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी छन् । महिलातर्फ न्यु डायमन्ड, नेपाल प्रहरी, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

एक करोड १५ लाख रुपियाँ लागत रहेको लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपियाँ पाउने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने छ ।