गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख १५ गते । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले आधुनिक श्रम अबको एजेन्डा भएको बताउनुभएको छ ।
जिफन्टले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मङ्गलबार काठमाडौँमा आयोजना गरेको ‘मे दिवस २०२६ घोषणापत्र सार्वजनिक’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो।
उहाँले अबको प्रश्न केवल तलब वृद्धि मात्र नभई दक्षता, डिजिटल रूपान्तरण, उत्पादनशीलता, सामाजिक सुरक्षा, नयाँ रोजगारी, राष्ट्रिय उद्योग संरक्षण तथा समावेशी समृद्धि भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आम श्रमिक, कर्मचारी, शिक्षक, बैँककर्मी, स्वास्थ्यकर्मी, युवा फ्रिलान्सर, प्रवासी श्रमिकका परवार लगायत सबैलाई समेट्ने आधुनिक श्रम एजेन्डा युनियन आन्दोलको एजेन्डा बनाउनुपर्छ।”
उहाँका अनुसार यस वर्ष ‘कामको अधिकार, श्रमको सम्मान, सिपको अभिवृद्धि, प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि’ भन्ने नाराका साथ देशभर र प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरी मे दिवस मनाइने छ। ट्रेड युनियन आन्दोलनलाई गति दिन जनताको बहुदलीय जनवाद, उत्पादक शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हितसहितको एकतालाई वैचारिक आधारको रूपमा लिइएको उहाँको भनाइ छ।
नेपाली ट्रेड युनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नुपर्ने चुनौतीमध्ये स्वचालन र कृत्रिम बुद्धिमता (एआई) श्रमको अनौपचारिकीकरण, बसाइसराइ, बढ्दो महँगी र ज्याला स्थिरता, ट्रेड युनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्न जरुरी ठानेको उहाँले बताउनुभयो ।
घोषणापत्रमा जिफन्टले सम्मानजनक पारिश्रमिक, सर्वकालिक सामाजिक सुरक्षा, पारिश्रमिकसहित इन्टर्नसिप र तालिम, सीप क्रान्ति, श्रमिक–उद्योग सहकार्य, महिला श्रमिक सशक्तीकरण, आप्रवासी श्रमिक संरक्षण, अनौपचारिक क्षेत्रको सङ्गठन, स्वास्थ्य र मानसिक सुरक्षा, रिमोट वर्क (दूरस्थ काम), सहकारी उद्यम मोडेल र राष्ट्रिय औद्योगिकीकरण लगायतका विषयमा नीतिगत प्रस्तावहरू अघि सारेको छ।