सिरहा, वैशाख १४ गते । सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ ।
पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएपछि सवारी सञ्चालन अवरुद्ध भएको छ । स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बीचमै अलपत्र परेका थिए । पछि स्थानीयवासीको सहयोगमा ती सवारीसाधन तारिएको थियो ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लगातारको वर्षाले संरचनामा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले तत्काल डोजर प्रयोग गरी माटो हालेर बाँध पुननिर्माण गरेको छ र आवतजावत आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ ।”
हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त कमला नदी पुल निर्माण भने लामो समयदेखि हुन सकेको छैन । २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपियाँमा सो पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने पुल हालसम्म पनि निर्माण हुन सकेको छैन । रासस