काठमाडौँ, वैशाख १४ गते । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन सुरु गरेको छ ।
महानगरपालिकाभित्रका होस्टेलहरुमा करिब ४० हजार व्यक्तिहरुले सेवा लिइरहेको व्यवसायीहरुको तथ्याङ्क छ । यति धेरै व्यक्तिहरुले सेवा लिइरहेको स्थानमा मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षा सम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने र आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिनेलाई बन्द गर्ने लक्ष्यसहित अनुगमन थालिएको हो ।
शिक्षा अधिकृतहरुको संयोजकत्वमा गठन भएको अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट, योजना तथा अनुगमन एकाइका प्रतिनिधि सदस्य हुनुहुन्छ ।
यो टोलीमा राजस्व विभागका प्रतिनिधिलाई सामेल गराउन शिक्षा विभागलाई निर्देशन दिँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘एक ठाउँमा पटक पटक अनुगमनमा जानु नपरोस् । कुन कुन क्षेत्रका कुन कुन सूचक हेर्नु पर्ने हो । पूर्ण टोली बनाएर अनुगमन गर्नु । अवस्थाको निष्कर्ष निकालेर फर्किनु ।’
पाँच वटा अनुगमन टोलीमध्ये शिक्षा अधिकृत नेत्रनारायण पौडेल संयोजक र शिक्षा अधिकृत रुक्मिला इटनी सदस्य सचिव रहेको टोलीले महानगरपालिकाको वडा नं १, ३, ४, ६, १६, १८ र ३० गरी ७ वटा वडामा रहेका होस्टेलहरुको अनुगमन गर्नेछ ।
यस्तै शिक्षा अधिकृत ओमप्रकाश गौत्तम संयोजक र शिक्षा अधिकृत धनकुमारी भण्डारी सदस्य सचिव रहेको टोलीले वडा नं ९ र ३१, शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल संयोजक र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य सचिव रहेको टोलीले वडा नं। १० भित्र सञ्चालनमा रहेका होस्टेलहरुको अनुगमन गर्नेछ ।
शिक्षा अधिकृत केशव ज्ञवाली संयोजक र शिक्षा अधिकृत विनिता महत सदस्य सचिव रहेको टोलीले वडा नंं २९, वरिष्ठ शाखा अधिकृत शुशिल सुवेदी संयोजक र शिक्षा अधिकृत लक्ष्मी पौडेल सदस्य सचिव रहेको टोलीले वडा नं २८ र ३२ भित्रका होस्टेलहरुको अनुगमन गर्नेछ।
‘काठमाडौँ महानगरपालिकाले जारी गरेको छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड २०८० बमोजिम होस्टेल सञ्चालकलाई मापदण्ड कार्यान्वयनमा प्रोत्साहन गर्ने, छात्रछात्रालाई मापदण्ड बमोजिमको सुविधा उपलब्ध गराउने, सुरक्षा र सामाजिक सम्बन्धको पक्षलाई सन्तुलित गराउने उद्देश्यले अनुगमन थालिएको हो, शिक्षा अधिकारी नमराज ढकालले भन्नुभयो ।
ढकालका अनुसार अनुगमन कार्य सकिएपछि अहिले सञ्चालन भएका तर दर्ता नभएका तोकिएको मापदण्ड पूरा भएका होस्टेलको दर्ता अनुमति प्रदान गर्दै जानेछौँ । उहाँले सञ्चालकहरुबाट लिएको अपेक्षाको कुरा गर्दै स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना हुन आवश्यक रहेको बताउनुभयो ।
सुरक्षित व्यवसायलाई प्रोत्साहन र होस्टेलमार्फत अबाञ्छित क्रियाकलाप रोक्ने काम हुनेछ । वडा नं २९ का सदस्य अनिल श्रेष्ठ भन्नुहुन्छ, ‘हिजोआज होस्टलमा विद्यार्थीहरु मात्र होइन । विभिन्न क्षेत्रमा रोजगारी गर्ने व्यक्तिहरु पनि बस्ने गर्नु भएको छ । अनुगमन कार्यले यो क्षेत्रको गरिमा बढाउनेछ ।’
होस्टेल एशोसिएन र होस्टेल व्यवसायी संघका पदाधिकारीहरुले व्यवसायिक मर्यादाका लागि महानगरपालिकाले सञ्चालन गरेको अनुगमनबाट सकारात्मक नतिजा आउने अपेक्षा रहेको प्रतिक्रिया दिनुभएको छ ।
यसैगरी, छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो ।
मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्रावास सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
छात्रावासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।
आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ । हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्रावास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । एकै सञ्चालकले दुवै छात्रावास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ ।
सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ ।
महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन । शैक्षिक वातावरण मिलाउनुपर्छ । कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेछ ।
मापदण्डमा छात्रावाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ ।
त्यस्तै छात्रावास सम्बन्धी प्रस्ताव, प्रतिवद्धता पत्रलाई अनुसूचीमा ढाँचा दिइएको छ ।