• १४ वैशाख २०८३, सोमबार

सरकारको योजना : सुकुमवासीको दिगो व्यवस्थापन

blog

आइतबार दशरथ रङ्गशालामा सुकुमवासीको नाम दर्ता गर्दै कर्मचारी । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, वैशाख १४ गते । सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विस्तृत अध्ययन थालेको छ । नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरिएपछि त्यहाँ आश्रित नागरिकलाई दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने तयारी गरेको हो । 

काठमाडौँ, ललितपुर र भक्तपुरमा अव्यवस्थित तरिकाले बागमती नदीसहित अन्य खोलाकिनारमा गरिएको अतिक्रमण हटाउने अभियानसँगै त्यहाँबाट विस्थापित भएका नागरिकलाई अल्पकालीन आवासको प्रबन्ध गरिँदै छ । सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले वास्तविक भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायणमा निर्मित एकीकृत आवास आयोजना भवनमा राखिने बताउनुभयो ।

उहाँका अनुसार इचङ्गुनारायणस्थित आवासीय भवनमा पाँच वटा ब्लक छन् । उहाँले भन्नुभयो, “उक्त भवन भूमिहीन एवं सुकुमवासीलाई राख्ने योजनासाथ निर्माण गरिएको हो । यो अवधिमा विभिन्न कारणले सुकुमवासीलाई त्यहाँ लगेर राख्न सकिएन । मानव सेवा आश्रमले प्रयोग गरिरहेको भवनको एउटा ब्लक अहिले पनि खाली छ, जसमा ४५ परिवार अट्न सक्छन् । त्यसलाई रङरोगन गर्दै छौँ । लगभग १०–१५ दिनमा तयार हुन्छ ।” 

कीर्तिपुर र होटलमा व्यवस्थापन 

सरकारले काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली, वडा नं. ९ स्थित गैरीगाउँ, सिनामङ्गल र महानगरकै वडा नं. ३१ स्थित शान्तिनगरको अव्यवस्थित बस्ती शनिबारै खाली गराएको छ । मध्यपुरथिमी नगरपालिका वडा नं. १ स्थित मनोहरा खोलाकिनारको अव्यवस्थित बस्ती खाली गरिँदै छ । आइतबार अपराह्न वर्षा भएपछि केही घरटहरा भत्काउने कार्य बाँकी रहेको हो । विकास आयुक्त ढकालका अनुसार थापाथली, गैरीगाउँ, शान्तिनगर र मनोहरा खोलाकिनारको बस्ती खाली गरेपछि ५६२ परिवार सम्पर्कमा आएका छन् । उहाँले भन्नुभयो, “मनोहराबाट अझै आउन बाँकी छ । उहाँहरू सम्पर्कमा हुनुहुन्छ । नाम सङ्कलन भइरहेको छ । सम्पर्कमा आएकामध्ये ३३ परिवारलाई कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रमा राखिएको छ । बाँकी परिवारलाई काठमाडौँमै होटलमा व्यवस्थापन गरिएको छ ।” 

पहिचान र छानबिन गरिने 

प्राधिकरणका विकास आयुक्त जानुका ढकालले दशरथ रङ्गशालामा ल्याइएका भूमिहीन परिवारलाई तहगत छनोट भइरहेको बताउनुभयो । उहाँले सम्पर्कमा आएकामध्ये केही फर्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “केहीले मेरो घर छ, आफन्त हुनुहुन्छ भनेर जानुभयो । कोही नहुनेलाई सरकारले व्यवस्थापन गर्छ । नाम सङ्कलन गरेपछि उहाँहरूको नागरिकता लिएर, उहाँहरूको जिल्लामा कतै जग्गाजमिन छ कि छैन, परिवारका नाममा घरजग्गा छ कि छैन भन्ने जाँचबुझ गरेर वास्तविक सुकुमवासीको दीर्घकालीन व्यवस्थापन सरकारले गर्छ ।” 

विकास आयुक्त ढकालले सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजनाले अध्ययन गरेर ‘रेड जोन’ भनेर छुट्याएको क्षेत्र खाली गराइएको प्रस्ट पार्दै बाढी र डुबानको जोखिमबाट नागरिकलाई मुक्त गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सारिने छ ।” 

आयोगसँग पनि समन्वय 

 सरकारले सरोकारवालासँग समन्वय गरेर भूमिहीन नागरिकलाई व्यवस्थापन गरेको प्राधिकरणका विकास आयुक्त ढकालले जानकारी दिनुभयो । उहाँले भूमि आयोगले पनि जग्गाको विवरण तयार गरिरहेको र वास्तविक भूमिहीन, सुकुमवासी पहिचान गरेपछि व्यवस्थापनका सन्दर्भमा सरकारले आवश्यक निर्णय गर्ने बताउनुभयो । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सुकुमवासीको व्यवस्थापन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेसँगै अव्यवस्थित बस्ती हटाउने कार्यलाई निरन्तरता दिइएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले काठमाडौँ, भक्तपुर र ललितपुरका सबै अव्यवस्थित बस्ती हटाएर दीर्घकालीन व्यवस्थापन गर्ने योजना बनाइएको बताउनुभयो । यसैबिच काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले इचङ्गुनारायणस्थित आवासीय भवन निरीक्षण गर्नुभएको छ । उक्त भवनको मर्मत, सरसफाई र रङरोगन कार्य भइरहेको छ । 

सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपनिर्देशक, सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी उद्धव नेपालले काठमाडौँ, भक्तपुर र ललितपुरमा नदीखोलाकिनारमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बस्दै आएको जानकारी दिनुभयो । तीन वटै जिल्लाका पालिकाका २७ वडामा अव्यवस्थित छन् । काठमाडौँ महानगरमा दुई हजार २४५, कागेश्वरी मनोहरा नगरपालिकामा ९०, बुढानीलकण्ठ नगरपालिकामा १५६, ललितपुर महानगरपालिकामा १७ र भक्तपुरमा ७७३ घरटहरा अव्यवस्थित रूपमा रहेका छन् । जसमध्ये काठमाडौँ महानगरभित्रका थापाथाली, सिनामङ्गल र गैरीगाउँ, शान्तिनगरका बस्ती खाली गरिएको छ । 

स्वास्थ्य जाँच तथा परामर्श 

सञ्चार सहजकर्ता बजगाईंले दशरथ रङ्गशालामा ल्याइएका भूमिहीन तथा सुकुमवासीलाई काठमाडौँ महानगरको स्वास्थ्यकर्मीको टोलीले शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार सुकुमवासी बस्तीमा रहेका घरपालुवा जनावरलाई स्नेहा केयर, क्याटलगायत संस्थाले  खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरको उपचार गरिरहेका छन् ।