• ११ वैशाख २०८३, शुक्रबार

लोकतन्त्र दिवस आज, युगीन यात्रा आरम्भ

blog

काठमाडौँ, वैशाख १२ गते । नागरिकलाई सार्वभौम र देशलाई पूर्वलोकतान्त्रिक व्यवस्थामा प्रवेश गरी नवीन इतिहास निर्माण भएको दिन वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवस । १९ दिनसम्म देशैभरि जागेका नागरिकले २४० वर्षदेखि शासन सत्तामा रहेको शाहवंशीय राजतन्त्र अन्त्य गरी २०६३ वैशाख ११ गते लोकतन्त्रको युगीन यात्रा आरम्भ भएको हो । 

शाह वंशका अन्तिम शासक ज्ञानेन्द्र शाहले जनताको रूपान्तरणको आकाङ्क्षासामु झुकेर २०५९ जेठ ८ गते विघटन गरेको संसद् पुनस्र्थापना गरेपछि नै लोकतान्त्रिक व्यवस्थाको अग्रगामी युग थालनी भएको हो । संसद् पुनस्र्थापनापछि २०६३ जेठ ४ गतेको बैठकबाट राजसंस्थाका सम्पूर्ण अधिकार खारेज गरेर कार्यकारी अधिकार प्रधानमन्त्रीमातहत ल्याएको थियो । 

प्राज्ञिक एवं कूटनीतिका विज्ञ, मानव अधिकारकर्मी एवं जेनजी अगुवाले लोकतन्त्र दिवसले देशलाई सुशासनसँगै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुदृढ गरेर समुन्नतितर्फ अघि बढाउन प्रेरित गर्ने बताउनुभयो । पूर्वराजदूत प्राडा लोकराज बराल, नागरिक अगुवा कृष्ण पहाडी, जेनजी अभियन्ताद्वय भावना राउत र सांसद पुरुषोत्तम यादवले नागरिक र लोकतन्त्र सर्वोपरि हुन् भन्ने स्थापित भएको दिनकै रूपमा लोकतन्त्र दिवसलाई स्मरण गर्नुभयो । 

प्राडा बरालले नेपालको राजनीतिक इतिहासमा लोकतन्त्र दिवसको विशिष्ट र दूरगामी महत्व रहेको बताउनुभयो । उहाँले २००७ को क्रान्तिदेखि जेनजी पुस्ताको जनआन्दोलनसम्मका परिवर्तनले नेपाली समाजलाई पूर्ण लोकतान्त्रिक मार्गमा अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “२००७ को क्रान्ति नेपालको इतिहासको प्रस्थानविन्दु हो, जसले १०४ वर्ष लामो राणा शासन अन्त्य गरी मुलुकमा बहुदलीय प्रजातन्त्रको सूत्रपात गरेको थियो । त्यसै गरी २०४६ को जनआन्दोलनले प्रतिबन्धित राजनीतिक दल र बहुदलीय व्यवस्थालाई पुनस्र्थापना गराएर देश अर्को महत्वपूर्ण युगमा प्रवेश ग¥यो ।” 

सुशासन र शुद्धीकरण आवश्यक 

नागरिक अगुवा पहाडीले राजनीतिलाई पेसा, व्यवसाय वा धन्दा बनाउन नहुने बताउनुभयो । उहाँले आन्दोलनमा योगदान गर्ने बुवा पुस्ताले पद र शक्तिको मोह त्यागेर स्वतन्त्रता सेनानीका रूपमा बस्नुपर्ने प्रस्ट पार्नुभयो । उहाँले राज्यका प्रमुख अङ्गको शुद्धीकरण र पुनर्संरचना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका मात्र होइन, नागरिक समाज र प्रेस जगत्मा पनि कमजोरी देखिएका छन् । यी सबै निकायको शुद्धीकरण आवश्यक छ । लोकतन्त्र दिवसबाट नागरिक गर्नेले अझै बढी प्रेरणा लिनु पर्छ । राजनीति व्यवसाय होइन । आन्दोलनमा योगदान गर्नेले पदको लोभ नगरी बस्नु पर्छ । शासक बन्ने आकाङ्क्षा राख्दा कतिपय आन्दोलनकारी असफल भएका छन् । नागरिक समाज सत्तामा जानु हुँदैन भन्ने मेरो दृढ मान्यता थियो । त्यो कुरामा अडिग छु ।” 

जेनजी अभियन्ता राउतले सरकारले जनआवाजलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सडकबाट प्रश्न उठाएर बनेको सरकारले अब जनतालाई परिणाममुखी उत्तर दिनुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक व्यवस्थामा सञ्चारकर्मी, प्रतिपक्ष र नागरिक समाज सबैले जनआवाज सुन्ने र सुनाउने वातावरण निर्माण गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई सार्थक बनाउनकै लागि जनताले ठुलो आशा र भरोसासाथ बहुमत दिएर पठाएका छन् । यदि जनअपेक्षा पूरा हुन नसके नेपालको भविष्यप्रति नै निराशा पैदा हुन सक्छ । सरकारले पिपुल फस्र्ट (जनता पहिलो) भन्ने अवधारणालाई आत्मसात् गर्नु पर्छ ।” 

ऐतिहासिक उपलब्धि 

जेनजी अभियन्ता एवं सांसद यादवले लोकतन्त्र दिवसका सन्दर्भमा देशमा पहिलो पटक महिला राष्ट्रपति, महिला प्रधानमन्त्री, महिला प्रधान न्यायाधीश, महिला सभामुख भएको, समावेशी प्रतिनिधित्वका आधारमा राज्य प्रणालीमा सबैको सहभागिता सुनिश्चित भएको र युवा प्रधानमन्त्री देशले पाएको कुरा स्मरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैभन्दा कम उमेरका प्रधानमन्त्री, सांसद र उपसभामुखको चयन पनि जेनजी पुस्ताबाट भयो । यो लोकतन्त्र प्राप्तिकै देन हो । यो नयाँ सोच र ऊर्जा प्रवेशको सङ्केत पनि हो । मधेश प्रदेशबाट नेतृत्व उदाउनु समावेशी राजनीतिको अर्को ऐतिहासिक उपलब्धि हो ।” 

प्राडा बराल र नागरिक अगुवा पहाडीले नेपालको लोकतन्त्र परिपक्व हुँदै गएको बताउनुभयो । प्राडा बरालले जनताले चाहेमा शान्तिपूर्ण माध्यमबाटै नेतृत्व परिवर्तन गर्न सक्छन् भन्ने सन्देश यस निर्वाचनले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ नेतृत्वलाई काम गर्नका लागि समय दिनु पर्छ । अहिल्यै मूल्याङ्कन गर्न हतारो हुने छ । लोकतन्त्र र संविधान सही मार्गमा अघि बढेको छ ।”

नागरिक अगुवा पहाडीले राजनीतिमा युवा पुस्ताको हस्तक्षेपकारी र निर्णायक सहभागितालाई पहाडीले सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी पुस्ता राजनीतिमा आउनु र लोकतन्त्रको स्वामित्व ग्रहण गर्नु निकै सन्तोषको विषय हो । अब लोकतन्त्रको रक्षा र निगरानीको जिम्मेवारी युवा पुस्ताकै काँधमा आएको छ । सुशासन र दिगो शान्तिका लागि संविधान संशोधन गरेर अघि बढ्न अनुरोध छ ।” 

जनभावना सम्बोधन गरियोस्

जेनजी अभियन्ताद्वय राउत र सांसद यादवले जनताले दिएको ऐतिहासिक अवसरलाई काममार्फत सार्थक बनाउनुपर्ने बताउनुभयो । अभियन्ता राउतले नागरिकलाई स्पष्ट नबुझाइ चालिएका कदमले संशय पैदा हुने भएकाले विकासका काम गर्दा जनतालाई सुसूचित गर्न र अपनत्व कायम गर्न सुझाव दिनुभयो । 

सांसद यादवले मतदानमार्फत जनताको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षा व्यक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो जनमत केवल सत्ता परिवर्तनको चाहना होइन, प्रणाली सुधारको स्पष्ट सन्देश हो । त्यसैले समग्र रूपान्तरण गर्न र जनविश्वास आर्जन गर्नका लागि सरकारले प्रतिबद्ध भएर काम अघि बढाएको छ ।”