गुणबहादुर रोका
सुलीकोट, वैशाख ३१ गते । गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ९ ः १५ बजेको समयमा गोरखा नगरपालिका–१३ को तीनकिलोस्थित गोरखा आँबुखैरनी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बा. ९९ प. ५५९ नम्बरको मोटरसाइकलले सडक छेउमा हिँड्दै गर्दा अन्दाजी ५० वर्षिय पैदलयात्रीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका पैदलयात्रीलाई तत्काल आँबुखैरनी अस्पतालमा उपचारका लागि पठाइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
गम्भीर घाइते पैदलयात्रीको चितवनको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकको हालसम्म पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–५, कोरेन बस्ने २५ बर्षिय रक्की कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटना भएको तीनकिलो क्षेत्र पृथ्वी राजमार्गको व्यस्त सडकखण्डमा दैनिक रूपमा सवारी साधनको अत्यधिक चाप रहने भएकाले सडक क्षेत्रमा गति नियन्त्रण, ट्राफिक सङ्केत तथा पैदलयात्री सुरक्षित रूपमा वारपार गर्न सक्ने व्यवस्था प्रभावकारी बनाउन स्थानीयले माग गरेका छन् ।