• ३१ वैशाख २०८३, बिहिबार

कोशी प्रदेशसभाको अधिवेशन जेठ ६ मा बोलाउने निर्णय

blog

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा सहभागीहरू । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली 
विराटनगर, वैशाख ३१ गते ।
कोशी प्रदेश सरकारले आगामी जेठ ६ गते प्रदेशसभाको  अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुने छ । ‘‘मन्त्रिपरिषद्को आजको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्त्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ,’’ मन्त्री पराजुलीले भन्नुभयो ।
यसैगरी, बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाका मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगलाई पूर्णता दिने क्रममा सरकारले घिमिरेलाई सदस्यमा नियुक्त गरेको हो ।

सरकारले केही महत्त्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ । जसअनुसार ‘कोशी प्रदेश तथ्याङ्क नियमावली २०८२’ लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको छ ।

यस्तै, ‘कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८३’ र ‘कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश २०८३’ लाई थप छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिनुभयो ।

बैठकले सङ्घीय सरकारबाट सरुवा भई कोशी प्रदेशमा आएका सह–सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवको रूपमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।