• ३० वैशाख २०८३, बुधबार

शिवराज अस्पतालमा ३८ लाख हिनामिना : पाँचजना पक्राउ

blog

शिवराज आधारभूत अस्पताल भवन । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख ३० गते । कपिलवस्तुको शिवराज अस्पतालमा बैङ्कमा दाखिला गरिएको भनिएको ३८ लाख रुपैयाँभन्दा बढी रकम खातामा नदेखिए पछि सुरु भएको अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा बैङ्कका २ कर्मचारी र अस्पताल तथा नगरपालिकाका ३ गरी ५ जना रहेका छन् । उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल भण्डारी र तत्कालीन चन्द्रौटा शाखा र हाल मणिग्राम शाखाका कार्यालय सहयोगी विक्रम केसी रहेका छन् । 

यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेसु डा. अमित पाण्डे, अस्पतालका फार्मेसी सहायक रुक्सना खातुन रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।

करिब एक महिना अगाडि आर्थिक वर्ष ०८१-८२ को अडिटका क्रममा आधारभूत स्वास्थ्य सेवा अस्पतालको नेपाल बैङ्क लिमिटेड चन्द्रौटा शाखामा रहेको खाता नम्बर २२८००१०६९४६१३००००००१ मा जम्मा गरिएको भनिएका १२८ वटा भौचरका रकम बैङ्क खातामा अभिलेख नभेटिएपछि घटना बाहिर आएको थियो । 

घटनाबारे अस्पतालका अध्यक्ष तथा वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेको जाहेरी पछि प्रहरीले अनुसन्धान अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि बयान लिने क्रम जारी रहेको जनाएको छ ।