• ३० वैशाख २०८३, बुधबार

उपल्लो मुस्ताङकी एक्ली छात्रा गुरुङः अब स्वास्थ्यकर्मी बन्ने लक्ष्य

blog

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, भार्चा छोसेरकी छिमी ल्हामो गुरुङ । तस्बिर: हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ३० गते ।
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, भार्चा छोसेरकी १६ वर्षीया छिमी ल्हामो गुरुङले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ३.४२ जीपीए हासिल गर्नुभएको छ । उपल्लो मुस्ताङको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयकी एक्ली परीक्षार्थी गुरुङले ग्रेडेड भएसँगै उच्च शिक्षामा स्वास्थ्य क्षेत्र रोज्ने लक्ष्य लिएको बताउनुभएको छ ।

विद्यार्थी गुरुङ भन्नुहुन्छ, “मैले दैनिक रूपमा समुदायसँग जोडिने विषय पढ्ने चाहना थियो, नतिजाले सहज बनाएको छ, अब झनै मेहनत गर्छु ।” गाउँमा बालबालिकादेखि वृद्धवृद्धासम्मले समयमा उपचार नपाएर सास्ती भोग्नुपरेको अवस्थालाई ध्यानमा राख्दै नर्सिङ अध्ययन गरेर गाउँमै सेवा गर्ने उहाँको लक्ष्य छ ।

जाडोयाममा आर्थिक अवस्था कमजोर भएका वृद्धवृद्धा गाउँमै बस्नुपर्ने भएकाले स्वास्थ्य समस्या बढी हुने गरेको उल्लेख गर्दै गुरुङले गाउँको सेवा गर्ने शिक्षा नै अबको आवश्यकता भएको बताउनुभयो ।

उपल्लो मुस्ताङको लोमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक विद्यालयमध्ये एसइईमा सहभागी एक्ली परीक्षार्थी गुरुङले उच्च शिक्षाका लागि घरमै बसेर तयारी गरेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले विद्यार्थी गुरुङको चाहना अनुसार अध्ययनमा सहजीकरण गरिएको बताउनुभयो ।

विद्यार्थी छिमी ल्हामोकी आमा फु याङ्मो र बुबा घाटु गुरुङको पनि उहाँलाई स्वास्थ्यकर्मी बनाउने चाहना रहेको प्रधानाध्यापक त्रिपाठीले जानकारी दिनुभयो । पशुपालन र निर्वाहमुखी कृषि पेशामा संलग्न सामान्य परिवारकी गुरुङलाई महँगो कलेजमा पढाउने आर्थिक अवस्था नभएकाले छात्रवृत्तिसहित सहयोगको पहल भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयका अनुसार गुरुङ आधारभूत तहदेखि नै उत्कृष्ट विद्यार्थी रहँदै आउनुभएको हो । यस वर्ष मुस्ताङमा एसईई २०८२ को नतिजाअनुसार ३.६–४ जीपीए ल्याउने १६ जना, ३.२–३.६ जीपीए ल्याउने २८ जना, २.८–३.२ जीपीए ल्याउने ६९ जना, २.४–२.८ तथा २.०–२.४ जीपीए ल्याउने ६ जना विद्यार्थी रहेका छन् । ११ जना नन–ग्रेडेड (एनजी) मा परेका छन् भने ९४.८ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।