धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख २९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशका भारतीय सीमावर्ती क्षेत्रमा छोटी भन्सार सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ।
उहाँले मधेश प्रदेशका आठवटै जिल्ला भारतसँग खुला सीमाबाट जोडिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको दैनिक जीवनयापनका लागि सीमापार आवतजावत सामान्य र अपरिहार्य विषय भएको बताउनुभयो। रोजगारी, उपचार, शिक्षा तथा दैनिक उपभोग्य वस्तुको किनमेलका लागि नागरिकहरू नियमित रूपमा सीमापार जाने गरेको उहाँको भनाइ छ।
मधेश प्रदेशका पूर्व अर्थमन्त्री समेत रहनु भएका साहले यस्तो अवस्थामा प्रत्येक प्रमुख नाकामा छोटी भन्सार सञ्चालन गर्नु समयको आवश्यकता भएको बताउनुभयो। उहाँका अनुसार यसले स्थानीय नागरिकलाई सहजता प्रदान गर्नुका साथै सरकारलाई राजस्व सङ्कलनमा समेत सहयोग पुर्याउने छ।
उहाँले मङ्गलबार धारणा सार्वजनिक गर्दै व्यवस्थित भन्सार प्रणालीमार्फत अवैध कारोबार नियन्त्रण, पारदर्शिता कायम तथा स्थानीय व्यापार प्रवर्धनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभएको छ।
“जनताको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै हरेक नाकामा छोटी भन्सार स्थापना गर्न सरकार किन हिच्किचाइरहेको छ ? जनताको सहजता र राज्यको राजस्व दुवै सुनिश्चित हुने यस्तो व्यवस्थामा सरकारको आपत्ति किन ?” भन्दै उहाँले सरकारसँग प्रश्न पनि गर्नुभएको छ।
साहले सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकता र स्थानीय आर्थिक गतिविधिलाई मध्यनजर गर्दै सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने मागसमेत गर्नुभयो।