• २९ वैशाख २०८३, मङ्गलबार

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैँकबिच अवकाश कोष व्यवस्थापन सम्झौता

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २९ गते । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैँक लिमिटेडबिच बैँकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । 

नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित कोष र बैँकबिच कर्मचारीहरूको सामाजिक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले सो सम्झौता गरिएको हो ।

उक्त सम्झौतापत्रमा कोषका निर्देशक नबराज खड्का र बैँकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार अब लक्ष्मी सनराइज बैँकका कर्मचारीहरूको योगदानमा आधारित वा नभएको उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषले गर्ने छ । 

यस प्रक्रिया अन्तर्गत कोषले बैँकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी सम्बन्धित कर्मचारीलाई परिचय पत्र प्रदान गर्ने छ । बैँकबाट मासिक र वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरणका आधारमा सम्बन्धित कर्मचारी वा बैँकको खाता अद्यावधिक गर्ने जिम्मेवारी समेत कोषले सम्हाल्ने छ ।

यसैगरी बैँकको सिफारिसमा सेवा निवृत्त कर्मचारीहरूलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले मिलाउने सम्झौतामा उल्लेख छ । बैँकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवं कार्यविधिमा तोकिए बमोजिमको ब्याज, प्रतिफल तथा अन्य विविध सेवा–सुविधाहरू प्राप्त गर्ने छन् । कोषले अवकाश प्राप्त वा सेवा निवृत्त भएका कर्मचारीहरूलाई नियमानुसार लाग्ने कर कट्टा गरी भुक्तानी उपलब्ध गराउने छ ।

सम्झौता कार्यान्वयनका लागि लक्ष्मी सनराइज बैँकले आफ्ना कर्मचारीहरूको विस्तृत विवरण कोषलाई उपलब्ध गराउनुपर्ने छ । साथै, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने र सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने कार्य बैँकले गर्ने गरी दुई पक्षबिच सहमति भएको छ ।