• २८ वैशाख २०८३, सोमबार

अभ्यास सिरिजमा नेपाल ‘ए’ को ‘क्लीन स्वीप’

blog

जितपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख २८ गते । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ ।

नेपालले चार वटै अध्यास खेल जितेको हो । मुलपानी मैदानमा सोमबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई सात रनले हरायो । नेपालले सन्दीप जोराको शतकको सहयोगमा अमेरिकामाथि रोमाञ्चक जित निकालेको हो ।

जितका लागि नेपाल ‘ए’ ले दिएको दुई सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ५७ रन मात्र बनाउन सकेको थियो ।

अमेरिकाका लागि शेहान जयसुर्याले सर्वाधिक ७१ रन बनाउनुभयो । यस्तै शुभम रञ्जनेले ४७, शायन जाहाँगिरले ४१, स्मित पटेलले ३३ र मिलिन्द कुमारले ११ रन बनाउनुभयो । 

बलिङमा नेपाल ‘ए’ का शेर मल्लले ७.१ ओभरमा ३० रन खर्चिएर चार विकेट लिनुभयो । बसिर अहमदले तीन तथा शाहब आलम र पवन सरार्फले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६४ रन बनाएको थियो ।

नेपाल ‘ए’ का लागि सन्दीप जोराले एक सय १५ बलमा नौ चौका र चार छक्काको सहयोगमा एक सय ११ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, नारायण जोशीले १६ र पवन सरार्फ २० रन बनाउनुभयो । 

बलिङमा अमेरिकाकाका सौरभ नेत्रभाल्करले तीन विकेट लिनुभयो । जसदिप सिंहले दुई तथा शुभम रञ्जने, मिलान्द कुमार, मोहम्मद मोहसिन र रुसिल उगाकरले एक एक विकेट लिनुभयो । 

नेपालको सिनियर टोलीले अब मङ्गलबारदेखि घरेलु मैदान कीर्तिपुरमा  विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने छ । 

नेपालको सिनियर टोलीले एक साता अघिमात्र लिग–२ कै नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजको चार खेलमा तीन जित निकालेको थियो । 

नेपालले अब सिरिजमा मङ्गलबार वैशाख २९ गते स्कटल्यान्ड, जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

आठ देश सहभागी लिग–२ मा २४ खेल सकेको नेपाल १८ अङ्कसहित सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बनाएको छ ।  दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २८ खेलबाट ३४ अङ्क छ ।