• २७ वैशाख २०८३, आइतबार

कोहलपुरमा १०८ घरटहरा भत्काइयो

blog

कोहलपुर–११ स्थित नगर विकास समितिको जग्गामा बनाइएका घरटहरा भत्काउँदै नगरपालिकाको डोजर। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा,वैशाख २७ गते । बाँकेको कोहलपुर नगरपालिकाले आइतबार दोस्रो दिन पनि कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चलाएको छ। कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको जग्गामा बनाइएका १०८ वटा संरचना आइतबार भत्काइएको हो।

नगरपालिकाले शनिबारदेखि नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गतको करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) मा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको थियो। कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार आइतबार दुई वटा डोजर प्रयोग गरी १०८ वटा घरटहरा हटाइएको छ। शनिबार सोही क्षेत्रका ४० वटा घरटहरा भत्काइएको थियो।

“नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम दिएर अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरेको थियो,” प्रमुख थापाले भन्नुभयो, “नागरिकहरूले सौहार्दपूर्ण वातावरणमा आफैँ सरसामान सार्ने क्रम जारी छ। सामान सारेर खाली गरिएका संरचनामा मात्र हामीले डोजर चलाएका हौँ।”

नगरपालिकाले विस्थापित हुने नागरिकका लागि अस्थायी बसोबासको निम्ति होल्डिङ सेन्टरको व्यवस्थासमेत गरेको छ। शनिबार ७३ घरधुरीले होल्डिङ सेन्टरमा बस्न फाराम भरे पनि आइतबार उक्त सङ्ख्या घटेको छ। हाल ५४ परिवारका २०८ जना नागरिक होल्डिङ सेन्टरमा आश्रित रहेको नगरपालिकाले जनाएको छ।

नगर प्रहरी प्रमुख थापाका अनुसार सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी तथा भूमिहीन दलितको पहिचान प्रक्रियासमेत अगाडि बढाइएको छ। गत वर्ष सो स्थानका ७५१ परिवारले फाराम भरे पनि हालको पहिचानका क्रममा १०९ घरपरिवार भूमिहीन दलित र ७४ घरपरिवार मात्र भूमिहीन सुकुम्वासी देखिएका छन्।

नगरपालिकाले शनिबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतबाट वैशाख २५ गते जारी भएको सुकुम्वासी बस्तीसम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जमिनको हकमा लागू नहुने स्पष्ट पारेको छ। कुनै भ्रममा नपरी बाँकी रहेका घरटहराहरू तत्काल खाली गर्न नगरपालिकाले स्थानीयमा पुनः आग्रह गरेको छ।