चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २७ गते । ताप्लेजुङमा सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ गरिएको छ । शिक्षण पेसामा आबद्ध भएर सेवा निवृत हुनुभएका शिक्षकलाई शिक्षा विकास तथा समन्वय एकाइले सम्मानसहित बिदाइ गरेको हो ।
उमेर हदका कारण सेवा निवृत भएका तथा स्वेच्छिक अवकास हुन चाहेका शिक्षकहरूलाई एकाइले आइतबार सम्मानसहित बिदाइ गरेको हो । शैक्षिक सत्र २०८२ मा सेवा निवृत अर्थात अनिवार्य अवकास हुने र स्वेच्छिक अवकासमा जानेसमेत विभिन्न तहका ३२ जना शिक्षकको बिदाइ भएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार माध्यमिक तहका एक जना राहतसमेत छ जना शिक्षकलाई बिदाइ गरिएको छ । बिदाइ हुने मावि तहका शिक्षकमा प्रथम श्रेणीका एक जना, द्वितीय श्रेणी तीन जना र तृतीय श्रेणीका एक जना रहनुभएको एकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार निम्न माध्यमिक तहका एक जना (प्रथम श्रेणी) शिक्षक सेवा निवृत हुनुभएको छ । त्यस्तै अनिवार्य र स्वेच्छिक अवकास हुने प्राथमिक तहका २५ जना शिक्षकलाई बिदाइ गरिएको छ । प्राथमिक तहतर्फ बिदाइ हुनेमा प्रथम श्रेणीका तीन जना, द्वितीय श्रेणीका १४ जना र तृतीय श्रेणीका आठ जना शिक्षक रहनुभएको एकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सत्प्रतिशत नतिजा निकाल्ने विद्यालयका प्रधानाध्यापक र उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी समेतलाई सम्मान गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार एसईईमा सत्–प्रतिशत नतिजा ल्याउने विद्यालयमा फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पा सम्मानित हुनुभएको छ ।
त्यस्तै फक्ताङ्लुङ गाउँपालिकास्थित सिँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला तामाङ, सरस्वती माध्यमिक विद्यालय तापेथोकका प्रधानाध्यापक चन्द्रमणि सुब्बा र खेजेनिम माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकुमार लिम्बू सम्मानित हुनुभएको छ । सत् प्रतिशत नतिजा निकाल्ने आठराई त्रिवेणी गाउँपालिकास्थित गुप्तेश्वर माध्यमिक विद्यालय फूलबारीका प्रधानाध्यापक चन्द्रप्रसाद अधिकारी सम्मानित हुनुभएको छ ।
मिक्वा खोला गाउँपालिकास्थित मोति माध्यमिक विद्यालय खोक्लिङका प्रधानाध्यापक केबुहाङ लिम्बू र पाथीभरा याङव्रक गाउँपालिकास्थित कालिका माध्यमिक विद्यालय तिरिङ्गेका प्रधानाध्यापक देवीबहादुर गौतमलाई सम्मान गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । त्यसैगरी २०८१ को एसईईमा छात्रतर्फ सर्वाेत्कृष्ट अङ्क (३.९१ जिपिए) ल्याउने साङ्क देछ्योलिङ गोन्पा विद्यालयका लार्के शेर्पा सम्मानित हुनुभएको छ ।
छात्रातर्फ (३.७८ जिपिए) ल्याउने कञ्चनजङ्घा आवासीय माध्यमिक विद्यालयकी रमियुका राईलाई सम्मान गरिएको छ । सम्मानित विद्यार्थीलाई जनही नगद चार हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
त्यस्तै धार्मिक प्रकृतिका विद्यालयतर्फ जिल्ला प्रथम हुने साङ्क देछ्योलिङ गोन्पाकी छात्रा पेम्बाछिकी शेर्पा (३.७४ जिपिए), संस्थागत विद्यालयतर्फ कञ्चनजङ्घा आवासीय माविका अर्पण भट्टराई (३.५८ जिपिए) र सामुदायिक विद्यालयतर्फ भानुजन माध्यमिक विद्यालयका पर्वत भट्टराई (३.७७ जिपिए) तथा छात्रातर्फ भानुजन माविकै श्रुति लिम्बू (३.७० जिपिए) लाई पनि जनही तीन हजार रुपियाँ नगदद्वारा पुरस्कृत गरिएको छ ।
यता सेवा निवृत शिक्षकलाई प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, एकाइ प्रमुख भट्टराई लगायतले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र वितरण गर्नुभएको छ । त्यस्तै गतवर्षको एसईईमा सत्प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापकहरूलाई पनि सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरिएको छ । एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पनि प्रजिअ सेढाइँ लगायतले पुरस्कार रकम वितरण गर्नुभएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।