• २७ वैशाख २०८३, आइतबार

मङ्गलबारसम्म देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

blog

फाइल तस्बिर

काठमाडौँ, वैशाख २७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारसम्म देशका विभिन्न भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

आज आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । 

यसैगरी, भोलि सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

पर्सी मङ्गलबार कोशी, मधेश, बागमती प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।