• २७ वैशाख २०८३, आइतबार

राष्ट्रिय सरोकारमा रास्वपाको नीति बहस

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, वैशाख २७ गते । प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श सुरु गरेको छ ।

मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले रास्वपाले पार्टी, संसद् तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा परिचालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण सुरु गरेको हो । यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु गरेको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सुरु भएको रास्वपा संसदीय दलको मन्त्री–सांसद पूर्वबजेट अन्तक्रियाको तेस्रो शृङ्खलामा शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग सांसदहरूको अन्तक्रिया भएको हो । सो अन्तक्रियामा मन्त्रालयका काम, क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्वबजेट छलफल भएको थियो । 

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा सुरु भएको छलफलमा विभागीय मन्त्रीहरूको प्रस्तुति र सांसदहरूको जिज्ञासा जारी छ । सचेतक प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धितालले सहजीकरण गरिरहनुभएको छ । पार्टी प्रवक्ता मनीष झाका अनुसार उक्त कार्यक्रम आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट र विभिन्न महत्वपूर्ण विधेयकमा केन्द्रित छ ।  यही वैशाख २८ गतेदेखि सुरु हुने प्रतिनिधि सभा बैठकमा सरकारको नीति, बजेट र कानुन निर्माणसम्बन्धी बहसलाई प्राथमिकतामा राखिएको छ । रास्वपाले बजेट तयारी, मन्त्रालयगत समन्वय र विपत् व्यवस्थापनका विषयमा सक्रिय नीति बहस सुरु गरेको हो । संसद्को कार्यतालिका अनुसार वैशाख २८ गते राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, विभिन्न अध्यादेश तथा प्रतिनिधि सभा नियमावली मसौदा प्रतिवेदन पेस गर्ने तयारी छ ।

रास्वपाले नीति तथा कार्यक्रम तथा राष्ट्रिय प्राथमिकतामाथि धारणा प्रस्तुत गर्ने विनियोजन विधेयक तथा अन्य महìवपूर्ण विधेयकमाथि विषयगत बहस गर्ने जनाइएको छ । आउँदो जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले आव २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्नुअघि र पछि रास्वपाले बजेट र नीति निर्माण प्रक्रियामा सक्रिय भूमिका देखाउने गरी आन्तरिक तयारीमा जुटेको हो । 

रास्वपा संसदीय दलद्वारा आयोजित मन्त्री–सांसद प्री–बजेट अन्तक्रियाको तेस्रो शृङ्खलामा शिक्षा र कानुन मन्त्रालयका प्राथमिकता, बजेट योजना र नीतिगत सुधारबारे छलफल गरिएको थियो । शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमले मन्त्रालयका आगामी योजना, बजेट प्राथमिकता तथा कार्यान्वयनका विषयमा प्रस्तुति दिनुभएको थियो । सो अवसरमा सहभागी सांसदहरूले शिक्षा सुधार, कानुनी संरचना सुदृढीकरण र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखी आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

यसै गरी रास्वपाले जलवायु परिवर्तनसँगै बढ्दो प्राकृतिक विपत्लाई ध्यानमा राख्दै ‘नीति मन्थन’ नामक राष्ट्रिय बहस सुरु गरेको छ । पार्टी महामन्त्री भूपदेव शाहको अध्यक्षतामा गठित पार्टी–संसद्–सरकार समन्वय समितिको आयोजित आइतबार काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रममा सुरक्षा निकाय, वातावरणविद्, नीतिविज्ञ, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सरोकारवाला संस्थाको सहभागिता रहने जनाइएको छ । सो समितिका सचिव आरके ढुङ्गानाका अनुसार नेपालमा बाढीपहिरो, डढेलो र भूकम्प जस्ता विपत्बाट जनधनको क्षति कम गर्ने उद्देश्यले पूर्वतयारी र प्रभावकारी समन्वयका लागि सो कार्यक्रम आयोजना गरिएको हो । 

रास्वपा सभापति रवि लामिछाने सहभागी हुने उक्त कार्यक्रममा पार्टीले दीर्घकालीन नीति निर्माणको आधार तय गर्ने जनाइएको छ । नीति मन्थनबाट प्राप्त सुझावलाई आगामी दिनमा संसद् र सरकारमार्फत कार्यान्वयनतर्फ लैजाने तयारी छ ।