शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख २७ गते । जिल्लाको सिद्धिचरण नगरपालिका–११ कमेरेडाँडा नजिक रहेको चर्चित झाक्रीढुंगालाई कुँदेर निर्माण गरिएको विशाल शिवमूर्ति यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ ।
स्थानीयको पहलमा निर्माण गरिएको ‘झाक्रेश्वर महादेव’ नाम दिइएको उक्त मूर्ति करिब ४५ फिट अग्लो रहेको छ । पहरा कुँदेर निर्माण गरिएको यो मूर्ति यस क्षेत्रकै ठूलो शिवमूर्ति भएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार झाक्रीढुंगामा झाँक्रीको बासस्थान रहेको किम्बदन्ती रहँदै आएको छ । सोही ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विशाल पहरालाई कलात्मक रूपमा कुँदेर शिवमूर्ति निर्माण गरिएको हो ।
करिब एक करोड २० लाख रुपियाँ लागतमा निर्माण गरिएको मूर्तिको काम २०८० साल मंसिर ६ गते सुरु भई २०८३ साल वैशाख ६ गते सम्पन्न भएको झाक्रीढुंगा तथा पूर्वाधार निर्माण मूल समितिका अध्यक्ष उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ६ र ७ गते भव्य धार्मिक अनुष्ठानसहित उद्घाटन गरिएको थियो भने वैशाख ८ गते विशेष पूजा तथा प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको हो ।
मूर्ति निर्माणका लागि स्थानीयस्तरमा चन्दा सङ्कलन, जनसहभागिता तथा सिद्धिचरण नगरपालिकाबाट प्राप्त तीन लाख ५० हजार रुपियाँ सहयोग जुटाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्माण गरिएको यस मूर्तिले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले यसबाट धार्मिक पर्यटन, आर्थिक गतिविधि तथा स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि सुनकोशी गाउँपालिका–५ स्थित नाघीभिरमा पनि पहरा कुँदेर भगवान् बुद्धको अर्धकदको मूर्ति निर्माण गरिएको थियो । जिल्लामा प्राकृतिक पहरा कुँदेर धार्मिक संरचना निर्माण गर्ने क्रम बढ्दै जाँदा धार्मिक तथा पर्यटकीय गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।